काठमाडौं । कर्णाली प्रदेशमा प्रादेशिक पुस्तकालय स्थापनाका लागि शुक्रबार पुस्तकालय क्षेत्रका विज्ञहरूबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रूपान्तरण नेपालको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विकासमा मात्रै नभई ज्ञानको क्षेत्रमा पनि पछाडि परेको र ज्ञान प्राप्तिका लागि राज्यले लगानी नगरी विकासले गति लिन नसक्ने बताउनु भएको छ । कार्यक्रममा वरिष्ठ पुस्तकालय विद् इन्दिरा दलीले कर्णाली प्रदेशको आफ्नै मौलिकता झल्कने खालको पुस्तकालय भवन बनाउनु पर्ने र त्यसलाई ‘म्यानुअल र डिजिटल हाइव्रिट लाइव्रेरी’ को रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कुनै पनि ठाउँ विकासका लागि प्राकृतिक स्रोत साधन र अथाह सम्भावनाका कुरा गरेर मात्र नहुने र त्यसलाई परिचालन गर्न दक्ष जनशक्तिको आवश्यकता पर्ने तथा त्यो जनशक्ति उत्पादन गर्ने ज्ञान केन्द्रका रुपमा प्रादेशिक पुस्तकालय विकास गरिनुपर्ने धारणा राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पुस्तकालयका पूर्व प्रमुख यादवचन्द्र निरौलाले प्रादेशिक पुस्तकालयको विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पुस्तकालय संघका पुर्व अध्यक्ष गिता थापा, त्रि.वि. केन्द्रीय पुस्तकालय प्रमुख आइ.पि. अधिकारी, सोसल साइन्स वाहका जगदीशचन्द्र अर्याल, वन अनुसन्धान केन्द्रका पस्तकालय प्रमुख सुरेश यादव, केशर पुस्तकालयका पुर्व प्रमुख जानकी कर्माचार्य, पुस्तकालय आवाजका सम्पादक रमेश भुसाल, राष्ट्रिय पुस्तकालयका अधिकृत प्रेमराज अधिकारी, मदन पुरस्कार पुस्तकालयका निर्देशक राजिव सिंह, साझा शिक्षा इ.पाटीका प्रवन्धक टिकाराज कार्की, डिल्लिरमण पुस्तकालयका प्रमुख भोला श्रेष्ठ, रिड नेपालका कोषाध्यक्ष मुरारीविनोद पोखरेल, नेपाल लाइव्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, संयुक्त राष्ट्र संघ सूचना केन्द्र इञ्चार्ज राजेन्द्रमान बनेपाली, वरिष्ठ कार्यक्रम अधिकृत चन्द्रकिरण श्रेष्ठ र आइटि विज्ञ सूर्य बस्नेतले आफ्नो आ आप्ना विचार राखनुभएको थियो ।
थापाथलीस्थित अन्नपुर्ण चुलोमा आयोजित अन्तरक्रियामा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही प्रमुख अतिथी र वरिष्ठ पुस्तकालय विज्ञ इन्दीरा दलीको विशेष आतिथ्यता रहेकाे थियाे ।