प्रकाश न्यौपाने
भैरहवा । सिद्धार्थनगरमा सञ्चालित दाेस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबले हात पारेको छ ।
शनिाबार भएको फाइनल खेलमा साविक विजेता तिरुपति क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै उपाधी हात पारेको हो । विजेता खुकुरीले नगद ६० हजार सहित ट्रफि र उपविजेता तिरुपतिले ३० हजार सहित ट्रफि प्राप्त गरेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित खेलमा ९ विकेट क्षतिमा एक सय २५ रन बनाएको थियो । ३८ बल सामना गरेका निश्चल चौधरीले ७ चौका र दुई छक्काको मद्दतमा ५३ रनको योगदान गरेर रन आउट भए । इखलाख अहम्मदले २२ रन बनाए । बलिङमा तिरुपतिका संदीप सुनार र अनिल खरेलले २–२ तथा कृष्ण कार्की, रविन क्षेत्री, विष्णु कटरिया तथा बिक्रम भुसालले समान १–१ विकेट लिए ।
जवाफमा तिरुपतिले ९ विकेट क्षतिमा १ सय ७ रन मात्रै बनायो । जसमा सुरज दराईले २०, शौरभ खनाल र कृष्ण कार्कीले समान १८,१८ रन बनाए । बलिङमा खुकुरीका धिज शाहीले ३, इखलाख अहम्मदले २ तथा दुर्गेश गुप्ता, साहव आलम र मानबहादुर थापाले १,१ विकेट लिए । खुकुरीका निश्चल चौधरी म्यान अफ द फाइनल भए ।
प्रतियोगिता भरी ६ विकेट र ९३ रन बनाएका मास्टर्स–११ क्रिकेट क्लबका जितेन्द्र साहनी म्यान अफ द सिरिज घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
१ सय १२ रन बनाएका खुकुरीकै निश्चल चौधरी बेष्ट ब्याट्सम्यान तथा ९ विकेट लिएका तिरुपतिका रुविन क्षेत्री बेष्ट बलर घोषित भए । उनीहरुले समान ५–५ हजार प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी र जिल्ला समन्वय समिति सभापति एकराज विश्वकर्माले पुरस्कार प्रदान गरे ।