इटहरी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठान नेपालद्वारा इटहरीमा प्रदेश नम्बर १ स्तरीय बहुभाषिक सङ्गीत उत्सव आयोजना गर्याे ।
उत्सवलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यो उत्सवले मातृभाषा, सङ्गीत र संस्कृतिको उत्थान, संरक्षण र प्रर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भाषा नेपाली जातीको मौलिक पहिचान भएको विचार व्यक्त गर्दै मुख्यमन्त्रीले आफ्नो भाषा, संस्कार र संस्कतीलाई बचाउन सकिएन भने मानिस हुनुको सार्थकता नरहने उल्लेख गर्नुभयो । मुख्यमन्त्रीले देश समृद्धिको यात्रामा अगाडि बढेको तर साहित्य, कला र संस्कृतिको समृद्धिबिना त्यो समृद्धि अधुरो रहने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'यसै कुराई मनन गरी प्रदेश सरकारले बृहत् साहित्य, कला र संस्कृति सम्मेलन आयोजना गर्नुका साथै एउटा महासांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने योजना बनाएको छ ।'
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले प्रतिष्ठानका योजना, कार्यक्रम र गतिविधिमाथि प्रकाश पार्दै नेपाली जाती विविध संस्कृतिले सम्पन्न भए तापनि आर्थिक कारणले पछि पर्नुपरेको उल्लेख गर्दै आफ्ना मौलिक कला, सङ्गीत र संस्कृतिको संरक्षणमा सचेत हुनुपर्ने बताउनुभयो । सङ्गीत विभाग प्रमुख एवम् उत्सव संयोजक अशोक राईले राष्ट्रभित्रका सबै सङ्गीत राष्ट्रिय सङ्गीत भएकोले तिनको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले बहुभाषिक सङ्गीत उत्सवको आयोजना गरिएको जानकारी गराउनुभयो ।
शुक्रबार शुरू भई शनिबार सम्पन्न उत्सवको पहिलो दिन आयोजित बहुभाषिक स सम्बन्धी विचार गोष्ठीमा संस्कृतिविद् डा. भक्त राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा. राईले मौलिक सङ्गीतले मात्रै नेपाली सङ्गीतलाइ अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'बहुभाषिक सङ्गीतलाई आयआर्जनसँग जोड्न सकियो भनेमात्रै बहुभाषिक सङ्गीत सँगसँगै राष्ट्र पनि समृद्ध बन्ने छ ।'
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बू, सङ्गीत–नाट्यकी प्राज्ञ सभा सदस्य एवम् गायिका सत्यकला राई, सांस्कृतिक संस्थानका सदस्य प्रेमनाथ अधिकारी, संगीत साधनाका अध्यक्ष राम धामी, महासचिव राजु केसी, सङ्गीतकार सङ्घ नेपालका महासचिव पारस मुकारुङ लगायतले कार्यक्रममा बहुभाषिक सङ्गीतको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
उत्सवमा प्रदेश नम्बर ३ बाट शेर्पा र प्रदेश १ का विभिन्न जिल्लाबाट बान्तवा, उराव, मुस्लिम, आठपहरिया राई, थारू, मगर, लिम्बू, चाम्लिङ, दुमी, राजवंशी, धिमाल, लिम्बू, शेर्पा, बान्तवा, सुनुवार, खस लगायतका १९ भाषाका गीत–सङ्गीत प्रस्तुत गरिका थिए ।