अमरराज पुन
रुकुम पूर्व । ‘रुकुम पूर्व’ नेपालकै कान्छो जिल्ला हो । तीन स्थानीय तह सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका मिलेर बनेको रुकुम पूर्व भौगोलिक हिसाबले समेत विकट जिल्ला हो ।
बिस्तारै सडक सञ्जालले जोडिदै गरेको यस जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हो । रुकुमकोटबाट सिस्ने गाउँपालिका–२ नायगाड पुग्न करिब चारघण्टा लाग्छ । तल सानीभेरी नदी माथी ठूला–ठूला पहाड र नदी किनार छेउमै चिटिक्क परेको समथर बस्ती नायगाडमा विगत १७ वर्षदेखि पञ्चराम टमाटा दम्पतीको जीवन बितिरहेको छ ।
सल्यानको शारदा नगरपालिका स्थायी घर भएका टमाटा दम्पतीले गाउँघरका पुराना तामाका भाँडा संकलन गर्ने र त्यसबाट नयाँ भाँडा बनाएर मनग्य आम्दानी गरिरहेका छन् । गाउँमा वर्षेनी तामाबाट बनेको भाँडाको माग बढ्दै गएपछि व्यवसायिक रुपमै तामाको भाँडा बनाउने पेशा अँगाल्नु परेको पञ्चरामले बताउनुभयो । प्रयोगविहिन अवस्थामा रहेका गाउँघरका पुराना तामाको भाँडा प्रतिकिलो ११ सयका दरले संकलन गर्ने र त्यसबाट नयाँ भाँडा बनाई प्रतिकिलो १७ सयमा बिक्रि हुने गरेको टमाटाको भनाई छ ।
टमाटा दम्पतीले पूराना तामाका भाँडा संकलन र मर्मत खर्च कटाएर बिक्री भएको तामाको भाँडाबाट बार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् । गाउँबाट संकलन गरिएका पूराना तामालाई मर्मत गरेर गाग्री, ताउला, हुन्ना, लोटा लगायत नयाँ तामाको भाँडा बनाएर टमाटा दम्पतीले बिक्री गर्दै आईरहेका छन् । तामाबाट बनाईएका भाँडा मासिक २५ किलोसम्म गाउँमै सहज बिक्री हुने गरेको र केही तामाका भाँडा रुकुम पश्चिम, सल्यान, डोल्पा लगायतका जिल्लामा बिक्री हुने गरेको पञ्चरामले बताउनुभयो ।
१७ वर्षदेखि तामाको भाँडा बनाउने पेशाले घर व्यवहार सञ्चालनका लागि समेत सजिलो भएको पञ्चरामकी श्रीमती केवली टमाटाको भनाई छ ।
मासिक २ सय ५० रुपैयाँ भाडा तिर्ने गरी नायगाडमा रहेको एउटा घर भाडामा लिएर टमाटा दम्पतीले काम गरिरहेका छन् ।
पूराना तामाबाट नयाँ तामाका भाँडा बनाउँदा स्थानीयलाई पनि सजिलो भएको छ । स्थानीय गणेश खड्काका अनुसार आवश्यक पर्ने तामाका भाँडा खरिदका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
विशेष गरेर तामाको भाँडा बिहे–भोज, पूजापाठ र घरायसी प्रयोजनका लागि महत्वपूर्ण मानिन्छ ।