काठमाडौं । नेपाल जलस्रोतमा विश्वमै दोस्रो धनीको भ्रमको पच्छ्यौरा ओढेर बाँचिरहेको नेपालले संसारमा पानीको हिस्सा २.६ प्रतिशत ओगटेको छ र भूगोलका हिसाबले ९३ औँ ठूलो देश हो । १२ वर्ष जनयुद्ध, ३० वर्ष पञ्चायत र प्रजातन्त्रको ३० वर्षमा पनि विकासको बाटोमा हिँड्न नसकेको नेपालमा दोस्रोपटक अत्यधिक बहुमत र सबैभन्दा बढी शक्तिशाली प्रधानमन्त्री केपी ओली भियतनाम घुमेर स्वदेश आज फर्कँदैछन् । भौगोलिक हिसाबसले ६५ औँ स्थानमा रहेको भियतनामको जलस्रोतको हिस्सा ६.३८ प्रतिशत छ अर्थात् नेपालसँग भन्दा तीन गुणाजस्तै बढी जलस्रोत छ भियतनामसँग ।
नेपाल आफ्नो जलस्रोतकै कारण एउटा छिमेकी मुलुकको राजनीतिक स्वार्थको खाडलबाट माथि उठ्न सकिरहेको छैन । जबकि भियतनाम पनि १० वर्ष कम्युनिष्ट युद्धपछि सन १९७६ मा एकीकृत भएको हो । संयुक्त भियतनाम बनेको ४२ वर्षमा भियतनाम कृषिमा पनि उन्नत ढंगले छोटो समयमा विकास भएको देश हो, जुन देशका जनता संसारमा बिक्री हुने काजुको तीन भागको एक तिहाइ उत्पादन गर्छन् । विश्वबजारमा टिम्मुरजन्य उत्पादनमा पनि भियतनाम एक तिहाइ हिस्सा ओगट्छ । पछिल्लो २८ वर्षदेखि भियतनाम संसारलाई चामल वितरण गर्ने दोस्रो ठूलो राष्ट्र हो । कफी उत्पादनमा पनि भियतनाम दोस्रो ठूलो राष्ट्र हो संसारमै । चिया र रबरका लागि पनि भियतनाम ठूलो निर्यातकर्ता हो ।
समाजवादी गणतन्त्र भियतनाम यस्तो देश हो, जहाँ ७२.२ प्रतिशत जनता स्थानीय धर्म मान्छन् । १२ प्रतिशत बुद्ध धर्मावलम्बी र ८ प्रतिशत क्रिश्चियन धर्म मान्नेको बाहुल्यता रहेको भियतनामको मूल थिम होः स्वतन्त्र, स्वायत्त र खुशी । सन १९७५ मा उत्तर भियतनाममाथि विजय प्राप्त गरेपछि भियतनामले ४२ वर्षमा गरेको समृद्धि यात्रा संसारकै लागि लोभलाग्दो छ । सन १९८६ मा कम्युनिष्ट सरकारले शुरु गरेको राजनीतिक तथा आर्थिक सुधारका कार्यक्रमसँगै समृद्धि यात्रामा हिँडेको भियतनामको नेतृत्व माक्र्सवाद र लेनिनवादको समाजवादी गणतन्त्र पार्टीले नेतृत्व गरेको छ । भियतनाममा ५८ प्रदेश छन् । ५ नगरपालिका छन् ।
भियतनाम सरकारले सन २००९ मै अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने अधिकार र प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको छ । कृषि आधारित भियतनामको अर्थतन्त्रमा धान खेती सबैभन्दा ठूलो अर्थतन्त्रको हिस्सा हो । पञ्चवर्षीय योजना बनाएर नै भियतनाम कम्युनिष्ट सरकार जनतालाई समृद्धिको घाममा बाँच्न र हास्न सिकाइरहेको छ । कृषि, औद्योगिकरण विकास भइरहेको छ । सन १९८६ मा समाजवादी खुला बजारको नीति अपनाएपछि निजी क्षेत्र पनि उद्योगधन्दामा आकर्षित भए । उद्योग, वाणिज्य र कृषिमा भियतनामको प्रयास जारी रह्यो । दैनिक १ डलर भन्दा कम आम्दानी गर्नेहरुको जीवनस्तर उकास्न सरकारले अनेक प्रयत्न गरेको छ । सन २०१० पछि भियतनाम सरकारले बजेटको ०.४५ प्रतिशत रकम विज्ञान र प्रविधिमा खर्चन थालेको छ । सन २०१७ मा भियतनाममा १ करोड २९ लाख पर्यटक आएका थिए । यो वृद्धिदर २९.१ प्रतिशत हो । नेपाल सन २०२० मा जम्मा २० लाख पर्यटक ल्याउने सपना बोकिरहेको छ ।
यातायात्र क्षेत्रमा भियतनामको उस्तै लोभलाग्दो प्रगति छ । ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्, २० वटा मुख्य विमानस्थल छन् । २५ हजार ८८४ मेघावाट विद्युत् खपत हुने भियतनाममा ६१.४ प्रतिशत राज्यले उत्पादन गरिरहेको छ । २ हजार ३ सय ६० समुद्र छन् । पछिल्लो १० वर्षमा भियतनामको ग्रामीण भेगमा सुविधासम्पन्न खानेपानी सेवा छ । सन २०१५ सम्मा ९७ प्रति जनता खानेपानीको सेवा पहुँचमा रहेकाले स्वास्थ्य अवस्था पनि भियतनामी जनताको निकै राम्रो छ । महिला ८०.९ वर्ष र पुरुष ७१.५ वर्ष बाँच्छन् । शैक्षिक हिसाबले ८४ हजार लेक्चरर छन् ।
प्रधानमन्त्रीको साताव्यापी भ्रमणले नेपालसँग मिल्दोजुल्दो देशसँग सिक्नसकिने पाटा यिनै हुन् । यो तथ्यांक पक्कै प्रभावकारी हुनेछ सिक्न । भियतनामको लोभलाग्दो प्रगति हेरेर मात्र बस्ने कि, सिक्ने पनि ? सरकारले अब ल्याउने बजेट, योजना हेरेर समीक्षा गर्नु पर्छ । (विकिपेडियाको सहयोगमा)
तस्बिर स्रोतः