-तीर्थ न्यौपाने
काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेड कम्पनीले अधिकृत पूँजी ३० करोडबाट वृद्धि गरेर एक अर्ब रुपैयाँ बनाएको छ । कम्पनीको शनिबार सम्पन्न तेस्रो साधारण सभाले पूँजी वृद्धि गरेको हो । कम्पनीको जारी पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले विगतमा गरेका कार्य समीक्षा गर्दै कम्पनीद्वारा सञ्चालित जनता टेलिभिजन, जनतासमाचार डटकम अनलाइन र प्रकाशनलाई अझ सशक्त बनाउने निर्णय भएको अध्यक्ष डा. बिजयकुमार पौडेलले बताए ।
निर्वाचित जनप्रतिनिधि सम्मानितप्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तह निर्वाचनमा विभिन्न पदमा निर्वाचित शेयरधनीहरुलाई साधारण सभामा सम्मान गरियो । 'असल पुस्तकले जीवन परिवर्तन गर्छ’ भन्ने भावनाका साथ पुस्तक प्रकाशन गर्ने उद्देश्यले २०६८ मा स्थापना गरिएको माइलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेड दोस्रो साधारण सभाबाट जनता प्रसारण तथा प्रकाशन लिमिटेड कम्पनी बनेको हो ।
कम्पनीले २०७३ पुस २८ गते देखि अनलाइन न्युज पोर्टलका रुपमा जनतासमाचार डटकम औपचारिक शुरुवात ग¥यो । अनलाइन समाचार पोर्टलमा जिम्मेवार र सन्तुलित सामग्री प्रस्तुतिमा जनतासमाचार प्रतिस्पर्धी बजारमा आम पाठकले रुचाएको अनलाइन बनेको छ । अनलाइन दोस्रो वर्ष प्रवेशमा प्रवेश गरेको छ । कम्पनीले अनलाइनपछि २०७४ वैशाख २० गतेबाट ‘जनता टेलिभिजन’ परीक्षण प्रसारण आरम्भ ग¥यो । ‘जनताद्वारा जनताका लागि’ भन्ने मूल भावनाका साथ जनताकै लगानीमा जनपक्षीय, राष्ट्रवादी, स्वतन्त्र, निष्पक्ष र तटस्थ सञ्चारमाध्यमका रुपमा २०७४ असार २९ गतेदेखि ‘जनता टेलिभिजन’ नियमित प्रसारण भइरुहेको् छ । परीक्षण प्रसारणक्रमा स्थानीय तह निर्वाचन विशेष बुलेटिनबाट प्रारम्भ भएको जिम्मेवार पत्रकारिता पलपल चुनावी अपडेटसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म आइपुग्दा टेलिभिजन बजारमा अब्बल र दर्शकको रोजाइको टेलिभिजन बन्न सफल भएको छ ।
‘सुसूचित गराउने मात्र होइन असल नागरिक निर्माण गर्ने’ भन्ने मूल उद्देश्यका साथ टेलिभिजन सञ्चालनमा छ । जनता टेलिभिजन मुलुककै पहिलो र अहिलेसम्मकै निजी क्षेत्रको एक्लो सामुदायिक टेलिभिजन हो ।
काठमाडौंको मीनभवन, नयाँ बानेश्वरमा अवस्थित केन्द्रीय कार्यालयबाट प्रसारण हुने जनता टेलिभिजन अत्याधुनिक हाइ डेफिनेशन अर्थात एचडी प्रविधिमा आधारित छ । हङकङको बिटिएलसँग प्राविधिक व्यवसायिक सम्झौता गरी निर्माण गरिएको स्टुडियो नेपाली टेलिभिजनमा सबैभन्दा अत्याधुनिक र सम्पन्नमध्येमा पर्छ । एपिस्टार स्याटेलाइट कम्पनीसँग सम्झौतामा विश्वका एक सय भन्दा बढी मुलुकमा जनता टेलिभिजनको प्रसारण हेर्न सकिनेछ । युटुब र विभिन्न एप्सबाट विश्वभर टेलिभिजन प्रसारण हेर्न सकिने भएको छ ।