प्रकाश न्यौपाने
रूपन्देही । जिल्ला प्रशासन कार्यालयमा आकर्षक बगैँचा र गोलघर निर्माण गरिएको छ ।
उद्योगी–व्यवसायी तथा संघसंस्थासँगको सहकार्यमा प्रशसनले गोलघर र बगैँचा बनाएको हो । प्रशासनमा आउने सेवाग्रहीलाई लक्षित गरी बुधबारदेखि निःशुल्क चिया–कफी वितरण गर्न शुरु गरिएको छ ।
प्रत्येक महिना नयाँ कामको थालनी गर्ने अभियान लिएर अघि बढीरहेको प्रशासनले जेठ महिनामा ३ नयाँ कामको सुरुवात गरेको हो । सेवाग्राहीलाई छिटो र सरल सेवा दिने प्रशासनको अभियान अन्तर्गत कार्यालय र वरिपरी सुन्दरीकरणसमेत गरिएको हो । यसले सेवाग्राहीमा थप उत्साह थपिने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरकाे भनाई छ ।
प्रशासनका अनुसार निःशुल्क चिया-कफीका लागि अर्घाखाँची सिमेन्टले भेन्डिङ मेशिन सहयोग गरेको छ । गुप्ता नर्सरीले बगैँचा डिभिजन वन, संघीय आयोजना कार्यान्वयन इकाई र ह्याप्पी आवर ग्यामिङ क्लबको सहयोगमा बनाइएको हो । गोलघर शहरी विकास कार्यालयको सहयोगमा बनाइएको हो भने त्यसको साजसजावटमा अर्घाखाँची सिमेन्टले सहयोग गरेको छ ।
प्रजिअ रानामगरका अनुसार गोलघर र बगैँचा निर्माणमा करिव २२ लाख खर्च लागेको छ ।
सुनचाँदी व्यवसायी संघको सहकार्यमा प्रवेश गेट र कार्यकक्षमा पित्तलको गमला राखेको छ ।
नमूना एकीकृत विकास परिषद्को सहयोगमा ट्राफिक प्रहरी र सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरिएको छ ।
पुसदेखि कार्यालयले प्रत्येक महिना कुनै न कुनै नयाँ कामको शुरुवात गर्दै आएको छ । यसअघि प्रशासनले सेवाग्राहीलाई टोकन प्रणाली, पिउने पानी (तातो/चिसो), हुलाक टिकट व्यवस्था, नोटिस बोर्ड सेवा र प्रशासन बुलेटिनको प्रकाशन शुभारम्भ गरिसकेको छ ।
जिल्ला सुरक्षा सूचना केन्द्र, स्तनपान कक्ष, टिभी, पुस्तकालय, बिहान राष्ट्रगान पश्चात मात्र कार्यालयको सेवा प्रवाह गर्ने, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगमा रोक, कर्मचारीहरुलाई पोशाकका अतिरिक्त अनिवार्य रुपमा छातीमा प्रहरी जस्तै नामसहितको व्याच लगाएर सेवा दिने व्यवस्था, ‘डिएओ रुपन्देही’ नामक मोबाइल एप्स पनि सञ्चालनमा ल्याइसकेको छ ।