शिव अधिकारी यदुवंशी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकै गृहजिल्ला धनुषा । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ महासेठको निर्वाचन क्षेत्र । र, असार मसान्त नजिकिँदै गर्दा महासेठकै निर्वाचनमा क्षेत्रमा अनेक योजना अलपत्र परेको भेटिएको छ ।
निर्वाचन क्षेत्रमा विकास निर्माणका परियोजना अलपत्र पर्दा मन्त्री महासेठले निर्माण कार्यमा लापरबाही गर्ने कर्मचारी र ठेकेदारलाई कानुनी दायरामा ल्याउन गरेको उद्घोष पनि फिका भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा निकाल–बनिगामा जोडने पुलको फाउन्डेसन ढलानमा कमलस काम गरेको पाइएको छ । देखादेख हिलोमै फाउन्डेसन ढलान गरिएको पाइएपछि बदमासी सार्वजनिक भएको हो । ठेक्का लिने कम्पनी ढुकुच्चु–म्यागलुङ जेभीले सडक निर्माणमा गरेको बदमासीको स्थानीयले भिडियो खिचेर सञ्चारमाध्यमलाई उपलब्ध गराएका छन् ।
‘सडक डिभिजन कार्यालयलाई भिडियोसहित बदमासी जानकारी पनि गरायौँ,’ स्थानीय रामपुकार यादवले भन्नुभयो, ‘डिभिजन कार्यालयमा जानकारी गराएपछि स्थानीय र डिभिजन कार्यालयका इञ्जिनियर आएर निरीक्षण गरे तर कारबाही भएन ।’
स्थानीयले कमसल सामग्री प्रयोग र हिलोमा फाउन्डेशन ढलानको विरोध गरेपछि निर्माण कम्पनीले बदमासी ढाकछोप गर्न दिउँसो काम नै गर्न छाडेको छ । रातका समयमा ढलान गरेर बदमासी कायम राखेको छ । हिलोमा गरिएको कच्चा ढलान अहिले नै फुट्न थालेको छ ।
२०७२ असार ३१ मा ढुकुच्चु म्यागलुङ जेभी काठमाडौं र सडक डिभिजन कार्यालय धनुषाबीच २ करोड ७७ लाख ४४ हजार रुपैयाँमा निर्माण सम्झौता भएको हो । २०७४ असार ३१ मा निर्माण सम्पन्न गर्ने शर्त थियो । तर ठेक्का लागेको ४ वर्षमा पनि पुल निर्माणको काम ४० प्रतिशत भन्दा बढी देखिएको छैन । र, निर्माण कम्पनीले ३६ प्रतिशत रकम सडक डिभिजन कार्यालयबाट भुक्तानी लिइसकेको छ ।
‘निर्माण कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती गरेको देखिन्छ,’ सडक डिभिजन कार्यालयका प्रमुख विनोद कुमार मौवारले भन्नुभयो, ‘बन्द काम पुनः शुरु गर्न पटक–पटक ताकेता गर्दा ठेकेदार सम्पर्कमै आएका छैनन् ।’
चारवर्षदेखि पुल नबन्दा स्थानीय समस्या खेपिरहेका छन् । वर्षामा खोला बढ्दा आवागमन नै बन्द हुन्छ । मन्त्री महासेठले आफैँ तालुकवाला मन्त्रालय सम्हालेका छन् । उनकै निर्वाचन क्षेत्रमा पुल र सडक निर्माण कार्य अलपत्र बनिरहँदा अनि ठेकेदार सम्पर्कमै नआउँदा पनि सडक डिभिजन कार्यालय रमिते बनेको छ । स्थानीय व्यंग्य गर्छन्, ‘भौतिक पूर्वाधार मन्त्रीकै निर्वाचन क्षेत्रमा यस्तो छ, अन्त ठेकेदारले काम गर्लान् र ?’