प्रेम बुढा
बर्दिया । आफ्नै बुबाकाे हत्या गरेकाे आरोपमा युवक पक्राउ परेका छन् ।
ठाकुरबाबा-२, बलातीका ३५ वर्षीय विष्णु भन्ने गुणरत्न पाेखरेललाई ७४ वर्षीय वृद्ध बाबु रत्नलाल पाेखरेलकाे हत्या गरेकाे आरोपमा शुक्रबार प्रहरीले पक्राउ गरेकाे हाे ।
टाउकाे र शरीर छुट्टिएकाे अवस्थामा मृतककाे शव घरबाट चालिस फिट पर खाल्डाेमा गाडिएकाे अवस्थामा शुक्रबार प्रहरीले फेला पारेकाे छ । घटनास्थलबाट प्रहरीले बन्चराे,माेबाइलकाे ब्याट्री, चप्पल तथा रगतकाे टाटा फेला पारेकाे इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएकाे छ । डिएसपी महराले भन्नुभयो ‘लासको प्रकृति हेर्दा २ दिन अघि घटना भएको अनुमान गर्न सकिन्छ ।’
घटना हुनु भन्दा केही दिन अघि मृतककी श्रीमती तथा अभियुत्तकी आमा कुल पूजाका लागि सुर्खेत गएको देखिएको छ । आमा घरमा नभएकाले पनि घटनाको मोटिभ अभियुक्ततर्फ संकेत गर्ने प्रहरीको भनाइ छ ।
घटना घटेको दिन घरमा बाबु र छोरा मात्रै रहेको छिमेकीले बताएको प्रहरीको भनाइ छ । घरका अन्य व्यक्ति कोही नभएको मौका छोपी हत्या गरिएको हुन सक्ने प्ररारम्भिक चरण देखिएको घटनाको अनुसन्धानमा खटिनु भएका डिएसपी मदनजित महराले जानकारी दिनुभयो ।
डिएसपी महराका अनुसार घरको आन्तरिक किचलो प्रमुख कारण हुन सक्ने देखिएको छ । छिमेकीलाई उद्धृत गर्दै महराले भन्नुभयो ‘केही बर्ष अघि पनि बाबुलाई कुटेको रहेछ, विभिन्न समयमा बाबुछोरामा झगडा हुँदै आएको रहेछ ।’
अनुसन्धानबाट घटना घटाउनुको कारण खुल्ने प्रहरीको भनाइ छ ।
अभियुक्त गुणरत्न घरको साइलाे छोरा हुन् । घरमा बाबुको फोन नलागेपछि हालखबर बुझ्न घर गएकी बुहारीले घरमा रगत देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
घटनाको मुख्य कारण तथा घटनामा अन्य कसैको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान केन्द्रीत गरिएको डिएसपी महराले जानकारी दिनुभयो ।