प्रकाश न्यौपाने
लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना चाँडै सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
शान्ति, अहिंशा र करुणाका प्रतिमूर्ति गौतमबुद्धको जन्मस्थल लुम्बिनी र लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासका लागि पनि गुरुयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
४० वर्षसम्म पनि लुम्बिनी विकास गुरुयोजना पूरा हुन नसकेको भन्दै सरकारलाई लुम्बिनी विकास गुरुयोजनाको काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । भण्डारीले बुद्धसँग जोडिएका क्षेत्र जोडेर निर्माण गर्न लागिएको बुद्ध परिपथलाई समेत छिटो निर्माण गर्न आग्रह गर्नुभयो ।
२५६३औं बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को लुम्बिनीमा शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वशान्तिको मुहान लुम्बिनीबाटै विश्वबन्धुत्वको भावना जागृत गराउन सकिने बताउनु भयो ।
प्रधानमन्त्री केपी ओलीले २०७२ सालदेखि आफू सरकारमा आईसकेपछि लुम्बिनी विकासको कामले गति लिएको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि ४९ वर्ष अघि १६ वटा देशको समिति निर्माण गरी योजना बनाईए पनि ४० वर्षसम्म पनि योजना पूरा नभएको भन्दै अब छिटै विकास गुरुयोजनाको काम पूरा गर्ने दावी गर्नुभयो ।
लुम्बिनीको विकासमा सहयोग जुटाउने उक्त संस्थालाई सक्रिय बनाउने अभियानमा सरकार लागिपरेको भन्दै ओलीले दुईवर्ष भित्रै अन्तराष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा आयोजना गर्ने योजना बनाईएको बताउनुभयो । लुम्बिनीको हरियाली मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई लुम्बिनी जस्तै बनाउन शिसौका जंगल नभइ फलफूलका बगैंचा र बुद्धकालिन बोटविरुवा लगाइने बताउनुभयो ।
उन्माद, स्वार्थ, हिंसा कसैको पक्षमा नलाग्न आग्रह गर्ने गौतमबुद्धलाई विश्वसमुदायले भगवानको रुपमा मानेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले विश्वभरबाट बौद्धमार्गी आउने बनाउने गरी लुम्बिनीको विकास गरिने प्रतिवद्धता व्यक्त गर्दै जीवनमा एकपटक भए पनि लुम्बिनी आउन बौद्धमार्गीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनीलाई पवित्र स्थलसँगै स्वच्छ, सफा, हराभरा, पुण्यभूमी, ज्ञानभुमि र ध्यानभुमी बनाउने गरी विकास गर्न सरकारको ध्यान गएको बताउनुभयो । भण्डारीले कपिलवस्तुलाई अब फरक ढंगले विकास गर्न जरुरी रहेको र त्यसतर्फपनि सरकारले योजना बनाउने बताउनुभयो ।
प्रदेश पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीबाटै प्रदेश सरकार समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो । उहाँले विश्वशान्तिको मुहान लुम्बिनी पाँच नम्बर प्रदेशमै रहेकोले लुम्बिनीबाटै प्रदेशलाई समृद्ध बनाउन सकिने जनाउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले लुम्बिनीसँगै अरु क्षेत्रको विकास र प्रचारप्रसारको लागि योगदान पुग्ने गरी सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन शुरु गरेको भन्दै एकपटक लुम्बिनी आई अवलोकन गर्न सबैलाई आग्रह गनुभयो ।
यसअघि बिहान प्रधानमन्त्री ओलीले लुम्बिनी ग्राममा आँपको वृक्षरोपण गरी २५६३औं बुद्धजयन्ती तथा लुम्बिनी भ्रमणवर्षको दिनको शुभारम्भ गर्नुभएको थियो । वृक्षारोपणपछि ओलीले म्यूजियम परिसरमा नेपालको अहिलेसम्मकै सबैभन्दा अग्लो झण्डा फहराउनु भयो । लुम्बिनी विकास कोषले हरेक वर्ष आयोजना गर्ने बुद्ध जयन्ती तथा प्रदेश नम्बर पाँच सरकारले पहिलो पटक आयोजना गरेको लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमसँगै भएपछि विगतका वर्षभन्दा यसपटक सर्वसाधारण तथा स्थानीयको उपस्थिती बाक्लो रहेको थियो ।
कार्यक्रम शुरु हुनु अघि मायादेवी मन्दिरदेखि शान्तियात्रा गरी बेबी बुद्धमुर्तिलाई रथारोहण गरी कार्यक्रम स्थलमा ल्याइएको थियो ।
उद्घाटन कार्यक्रम अघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको अवलोकन गर्नुभएको थियो ।