भगीरथ भण्डारी
इलाम । सामुदायिक वनमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको छ । सरकारी नियम अनुसार उपभोक्ता समुहले एक सय ५७ हेक्टर वन क्षेत्रमा फैलिएको सामुदायिक वनलाई ८० भागमा विभाजन गरी प्रत्येक वर्ष एक क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि वन व्यवस्थापनमा लागेका हुन् ।
वैज्ञानिक वनको अवधारण बमोजिम बिउँ रुखका माध्यमबाट तथा साना उत्पादन हुँदै गरेका बिरुवाको संरक्षणबाट नयाँ बिरुवा उत्पादन गरिने र वनलाई हरियाली बनाउनका लागि वैज्ञानिक वन व्यवस्थापनमा लागेका छन् ।
इलामका दुई सामुदायिक वनमा अहिले बुढा, सय वर्ष पुगेका, आख्ला भएका र जोखिममा परेका सखुवा र अन्य जातका रुख काट्न थालिएको सुखानि सामुदायीक वन उपभोक्त समितिका अध्यक्ष लक्ष्मीप्रसाद चापागाइँले बताउनुभयो ।
डिभिजन वन कार्यालय इलामको स्वीकृती र निर्देशनमा वन व्यवस्थापन कार्यमा सामुदायिक वन उपभोक्त समिति लागिपरेका हुन् ।
मौजुदा वनको मूल्य, उत्पादकत्व, सामाजिक र भौतिक वातावरणमा नकारात्मक प्रभाव नबढ्ने गरी वनबाट लगातार उत्पादन र सेवा प्राप्त गर्ने प्रक्रिया अनुसार वैज्ञानिक वन व्यवस्थापन गरिन लागेको डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत यम बहादुर रुम्बाले बताउनुभयो ।
नयाँ बिरुवा उत्पादन गर्न र गोडमेल गर्न सामुदायिक वनका करिव एक सय महिलाले सात दिन लगाएर सरसफाई तथा थिनिङ्ग, पुनिङ्ग गर्ने काम पनि हुने गर्दछ ।
नेपालमा वार्षीक रुपमा करिब ७ अर्ब बरावरको विदेशबाट कमसल खालका काठ आयात हुँदै आएकाले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको साथै काठ प्रयोग हुने र गर्न सकिने ठाँउमासमेत आल्मुनियम आदिको प्रयोगले परनिर्भरता बढ्दै गएको छ ।