नवलपुर । पुर्वी नवलपरासीको कावासोतीमा गिद्ध संरक्षणका लागि प्रथम जटायु कप क्रिकेट प्रतियोगीता हुने भएको छ ।
जटायु बचाऔं, पर्यापवरण जोगाऔं, दिगो जैविक विविधता संरक्षण तथा पर्यावरण विकासमा युवाको सहभागिता भन्ने नारासहित जेठ १० गतेदेखि प्रतियोगिता शुरु हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवम् जिल्ला खेलकुद विकास समिति र नवलपुर क्रिकेट संघको समन्वयमा हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको बताइएको छ ।
प्रतियोगिताले दुर्लभ गिद्ध संरक्षणमा टेवा पुग्ने र गुणस्तरीय खेलाडी उत्पादन गरी जिल्ला प्रदेश र संघीय स्तरसम्म सहभागिता बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको आयोजक जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताउनुभयो ।
जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगितामा कावासोती नगरपालिकाका सबै वडाको सहभागिता रहने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
टि ट्वान्टी फरम्याटमा खेलाइने खेलको विजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेलाई ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।