मिना बुढाथोकी
सल्यान । शारदा नगरपालिका–१४ बस्ने २७ वर्षीया सुनिता नेपाली केही समय पहिलेसम्म पेशाले शिक्षिका थिइन् ।
वि.सं. २०६६ मा निजी शिक्षिकाको रुपमा कालिका प्रावि ढारखानीमा पढाउन शुरु गरेकी उनको शिक्षिका पेशा २०७४ मा पुगेर टुङ्गियो ।
पति किसन घर्तीले ढोरचौर बजारमा बोर्डिङ संचालन गरेपछि आफ्नै बोर्डिङमा पढाउनु भन्दै जागिर छोड्न लगाए । पतिको कुरा मान्दै उनले ०७४ सालमा निजी शिक्षिकाबाट बिदा लिदै ढोरचौर बजारमा कोठा लिएर पतिसँगै बस्न थालिन् । त्यस अवधिमा कहिलेकहीँ सानोतिनो त कुनैदिन शरीरमा निलडाम हुने गरी कुटाई खाएको उनि बताउँछिन् ।
एक छोरी र एक छोरासहित कहिलेकहीँ भोकभोकै सुत्नु परेको उनि बताउँछिन् । ‘श्रीमानले राती मरणासन्न हुने गरी कुटपिट गर्ने र बिहान भएपछि आफै औषधी ल्याएर उपचार गर्नुहुन्थ्यो’, सुनिताले भनिन्, ‘समाजले के भन्ला भन्ने डरले घाउ र पीडा लुकाउँदै घरभित्रै बस्ने गरेँ ।’
विद्यालयको जागिर छुटाएर घरमै बस्न दबाब दिएपनि वैदेशिक रोजगारीमा तीन वर्ष बिताएर फर्कदा खाली हात आउनु परेपछि श्रीमानले कुटपिट गर्न शुरु गरेको उनको भनाइ छ ।
‘पछिल्लो पटक मदिरा सेवन गरी सम्बन्ध बिच्छेद माग्दै अदालतमा गएर मुद्दा दर्ता गर् भन्नुभयो, मैले गर्दिन भनेपछि कुटाई खानु पर्यो ।’ रातको आठ बजे कुटपिट शुरु गर्नुभयो, छिमेकीले थाहा पाएर छुटाउनु भयो तर छिमेकी गएपछि पुनः कुटपिट शुरु गर्नुभयो ।
घाँटी थिचेको अवस्थामा छोरीले मम्मीलाई नकुट्नुस् बाबा भनेपछि छोरीलाई समेत कुटपिट गरेको उनको भनाइ छ ।
‘राती ११ बजे घरबाट भागेर बाहिर जान सफल भएकाले ज्यान जोगिन सक्यो’, उनले भनिन्, ‘छुट्टै कोठामा बसेर रात बित्यो ।’ बिहान भएपछि फेरी अदालत गएकी छैनस् भनेर कुटपिट गर्न थालेपछि स्थानीयको सल्लाहमा खलङ्गा पुगेर घाउ चाँज केस गरी इन्सेकको पहलमा अदालती प्रक्रियामा अगाडि बढेको उनि बताउँछिन् ।
पीडितको लिखित जाहेरीअनुसार उनका पतिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । कुटपिट पछि पतिले डेढ वर्षीया छोरालाई खोसेर राखेको थाहा पाएपछि इन्सेकको पहल र प्रहरीको सहयोगमा छोरालाई अहिले आमासँगै राखिएको छ ।
पीडित आमा र छोरालाई खलङ्गाको सुरक्षित आवास गृहमा राखिएको छ ।