काठमाडौं । शाहीकालका मन्त्री डाक्टर उपेन्द्र देवकोटाले नियम लगाए, दुई पांग्रे साधनमा हेलमेट पनि दुईवटा । यसले ज्यानको सुरक्षा गर्छ भन्ने थियो । त्यतिखेरको राजनीतिक अवस्थामा सुरक्षा दृष्टिकोणले त्यो नियम ठीक थियो या बेठीक, तर नियम लागु हुन सकेन । यतिखेर फेरि ट्राफिक प्रहरी महाशाखाले पत्रकार बोलाएर ठूलो हल्ला गरेको छः आइएसओ मान्यता प्राप्त हेलमेट लगाउनु पर्नेछ । मोटरसाइकलमा सवार हुने सबैले । यो हेलमेटको नियमले कम्तीमा २० अर्ब रुपैयाँ र बढीमा ३५ अर्ब रुपैयाँ विदेशिन पक्का छ । यो पैसाले हामी कति बाटो बनाउन सक्छौँ ? मोटरसाइकलको सट्टा गाडी किन्न परे कति कार, बस किन्न सक्छौँ ? चीनबाट जनै आयात गरेर लगाउने अनि भारतबाट ११ करोडको तरुल र सखर खण्ड किनेर माघे संक्रान्ति मनाउने हामीहरु अब आइसओ मान्यता प्राप्त हेलमेट किनेर अर्बौँ रुपैयाँ विदेश पठाउँदैछौँ । नयाँ ट्राफिक नियय सुरक्षाकवच हो या कमिसनको खेल ?
ट्राफिक प्रहरी महाशाखाले हठात् दुई हेलमेट अनिवार्य गर्ने निर्णय किन ग¥यो ? कुनै अध्ययन अनुसन्धानबाट यो नियम लागू गर्ने आवश्यकता पुष्टि भएको हो ? दुई हेलमेट नीति विशुद्ध सुरक्षाको दृष्टिकोणले ल्याइएको हो कि यसमा कुनै अदृश्य व्यापारिक चलखेल पनि छ ? कि कुनै बाह्य हेलमेट कम्पनीको प्रभावमा परेर नीति परिवर्तन गर्न खोजिएको हो ? यो देश यस्तो देश हो, जहाँ अर्बौँ कर असुल्न बाँकी कम्पनीले मुद्दा हाल्दा तत्काल कर नउठाउनु भनेर अदालत आदेश दिन्छ । यस्तो देश भयो, जहाँ हेलमेटमा २० अर्ब रुपैयाँ एकैपटक बाहिरिन लाग्यो भन्दा कोही कसैले यस्तो विषयमा पुनविचार गर भनेर अदालतमा एउटा रिटसम्म हाल्दैनन् ।
मुलुकमा पुग नपुग २७,३१,००० दुई पाङ्ग्रे सवारी साधन छ । नेपाल अटोमोबाइल एसोसिएसनले दैनिक ६०० मोटरसाइकल र स्कुटर नेपालमा बिक्री हुने बताएको छ । तथ्यांकका आधारमा भन्नुपर्दा सरकारले दुई पाङ्ग्रेमा दुई हेलमेटको नियम लागु गर्न साथ प्रति मोटरसाइकल र स्कुटरमा एउटा हेलमेट अनिवार्य खरिद गर्नु पर्छ । २७ लाख हेलमेट किन्नु पर्ने छ । अझ आइएसओ मान्यता प्राप्त हेलमेट त स्वयम् प्रहरी अधिकारीहरुसँग पनि छ कि छैन ? यो नियम लागु होला–नहोला । तर अर्बौँ रुपैयाँ विदेशिने यो नियम लागु हुँदा के नागरिकले अब दुर्घटनाबाट ज्यान गुमाउन नपर्ला ?
ट्राफिक प्रहरी महाशाखाले विगत ६ महिनामा ११ हजार १ सय मोटरसाइकल तथा स्कुटर दुर्घटना भएको तथ्यांक पेश गरेको छ । ६ महिनाको तथ्यांकमा मोटर साइकल र स्कुटर दुर्घटनामा परेर १ सय ५७ जनाको मृत्यु भएको जनाएको छ । अर्थात् दैनिक तीन दिनमा दुई जनाको ज्यान गइरहेको छ । एउटा जिल्लामा दैनिक ३ देखि ४ बेवारिसे मृत्यु हुने मुलुकमा हेलमेट मात्रै दुर्घटनामा मृत्युको कारण हो र ?
केही समयअघि मोटरसाइकलमा सेवा दिने टुटल र पठाओलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो । प्रधानमन्त्री केपी ओलीले टुटल र पठाओलाई कारबाही नगर्न भने । त्यहाँ एउटा कम्पनीमा १२ हजार भन्दा बढी मोटरसाइकलमा रोजगारी पाइरहेका युवाहरु छन् । यो देशको स्थायी सरकार कर्मचारी, यिनै बर्दीधारीले गर्ने एउटा निर्णयले सरकारको कस्तोसँग साख गिर्छ ? हिजो ज्ञानेन्द्र शाहका बेला लगाइएको नियम सडकमा सैनिक हुँदा त लागू भएन भने अहिले जनताको सरकारमा के सोचेर यस्तो निर्णय लागू गरियो ।
२५ करोड रुपैयाँले एक मेघावाट विद्युत् उत्पादन हुने देशमा हेलमेटमा मात्रै ३५ अर्ब रुपैयाँ सकाउने ? देशमा एउटा हेलमेट उद्योग होस्, सरकारले चलाओस् तब यस्ता नियम लागु गर्दा जनता, वाह सरकार भन्छन् । यहाँ त फगत विदेशी कम्पनीलाई पोस्न, नेपाली जनतालाई सोस्न अनि कमिसनको माहमा फस्न गरिएका यस्ता निर्णयले कसैको हित गर्छ जस्तो लाग्दैन । जुन देशको सडकमा कुलो, खाल्डो, पशुचौपाया, पसल हुन्छ, त्यहाँ हेलमेट लगाएका भरमा ज्यान जोगिन्छ ? मादक पदार्थसेवन अर्थात् मापसे, सिट बेल्ट अर्थात् सिबे आतंकपछि ट्राफिक प्रहरी हेलमेट आतंक मच्चाउँदैछ । जनता टेलिभिजनको कार्यक्रम बाइलाइनको शृंखला हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=2KgpXfejOK0&t=2s