काठमाडौंको व्यस्त जिन्दगी, बिहान कलेज, दिउँसोदेखि राति अबेरसम्म रेडियोमा काम । व्यस्त दैनिकीले बोरिङ जिन्दगी भन्न मन लाग्छ कहिलेकहीँ । बल्लतल्ल सातामा एक दिन बिदा । घुमिरहन मन पर्ने बानी । त्यही एक दिन सदुपयोग गरेर विशेष गरी काठमाडौं वरपरका ठाउँ पुग्छु, अनुभूत गर्छु । कहिले साथीसंगीसँग त कहिले एक्लै घुम्ने बानी पार्दैछु । समाचार शाखामा काम गर्ने भएकाले विशेष गरी विभिन्न अनलाइन, रेडियोदेखि टेलिभिजनका समाचारमा दैनिकजसो नयाँ विषयमा अपडेट भइरहेको हुन्छु । घुम्न मन पर्ने भएकाले समाचारमा विशेष गरी पर्यटकीय क्षेत्र तथा नूतन भूगोल पनि खोजिरहेको हुन्छु । विभिन्न अनलाइनका समाचार तथा साथीसँगको भेटघाटमा जिपलाइन खेलबारे निकै सुनेको थिएँ । पोखरामा मात्रै छ भन्ने पनि थाहा थियो । तर काठमाडौं वरपर पनि जिपलाइन सञ्चालन छ भन्नेमा अपडेट थिइनँ । काठमाडौंनजिकै धुुलिखेलमा पनि जिपलाइन खुलेको खबरले अनुभव लिन मन आतुर बनेको थियो । नजिकै आफैँ साधनबाट पनि जान सकिने, बिहान गएर साँझ फर्किन पनि सहज । विशेष गरी काठमाडौंबासीलगायत अस्थायी अनि स्थायी बसोबास गर्ने विद्यार्थी तथा युवावर्गले गज्बबसँग रोमाञ्चकारी खेलको मजा लिन सहज रहेछ ।
शनिबार १ बजेसम्म मर्निङ सिफ्टको काम सकेर २ बजे जिपलाइन गर्न जाने तय भयो साथी सञ्जुसँग । बानेश्वरमा स्कुटीमा पेट्रोल भरेर धुलिखेल हान्नियौँ । घुमाउरो बाटो, हरियाली डाँडा अनि शिलत मौसम र मनमा जिपलाइनप्रतिको आकर्षणले थप रोमाञ्चकता भरिरहेको थियो । बाटोमा स्कुटी चलाइरहदा बेलाबेला ट्रिपर चालकले पेलेर मन सिरिंग पारिरहेको थियो, एक मन त रिस पनि उठिरहेको थियो । तर गन्तव्य ट्रिपर ड्राइभरसँग झगडा थिएन, बल्लतल्ल मिलेको बिदामा जिपलाइन रौनकमा रमाउनु थियो । साथीलाई बेलाबेला यस्तै हुन् यी ट्रिपर चालक भन्दै अगाडि बढिरह्यौँ ।
[caption id="" align="alignleft" width="191"]
-कमला हमाल[/caption]
बाटोमा जिपलाइनबार प्रसंग जोडिरहेका थियौँ । कस्तो तरिकाको जिपलाइन गर्ने भनेर छलफलमा घनिभूत भएका थियौँ । पहिले पनि जिपलाइनसम्बन्धी भिडियो हेरिसकेकाले कस्तो हुन्छ भनेर साथीलाई भन्दै पनि थिएँ ।
करिब एक घण्टापछि हामी धुलिखेलस्थित थाक्लेडाँडा पुग्यौँ । अरु धेरै जिपलाइन गरिरहेका थिए । तराईमा हुर्के बढेकाले होला तुइन त समाचार तथा टिभीमा मात्र देखेको थिएँ । यो त तुइनजस्तै रहेछ भनेँ । साथीले भनिन्, ‘तुइन् पहाडका मान्छेले करले चढ्छन्, हामी त रहरले खेल्न आएको छौँ ।’ भनेँ, ‘तुइनको त के भर, तर यसमा पुरै सुरक्षा होला ।’ तर मनमनै हल्का शंका थियो । सुरक्षित त होला भन्ने लागिरह्यो थोरै प्रश्नचिन्हसहित । साथी जिपलाइनका मिडिया कोर्डिनेटर विष्णु घिमेरेसँग पनि यो प्रश्न राखेँ । भन्नु भयो, ‘ल त्यसो भए यो जिपलाइनका सञ्चालक केदार थापाजीसँग भेट गराइदिउँला अनि सोध्नू ।’
केदारजीसँग पहिलो प्रश्न नै नै यही रह्यो‘हामी त जिपलाइन गर्न आएको, अलिअलि डर लागिरहेको छ । सुरक्षित होला कि नहोला ?’ सोधेँ । केदारजी मुसुक्क हाँस्दै बोल्नु भयो, ‘कमलाजी तपाईं मात्र होइन, प्रायः यहाँ आउने सबैले यही प्रश्न गर्नुहुन्छ ।’ थप्नुभयो, ‘धुलिखेलमा सञ्चालिन जिपलाइन युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डको अनि अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिपलाइन सञ्चालन लागि दुई जना भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्प निरीक्षण गर्दै आएका यी प्राविधिकले नियमित प्राविधिक परीक्षण गर्छन् ।’ केदारजीले थप्नु भयो, ‘अझ सुपरम्यान जिपलाइनका लागि त अमेरिकी र क्यानेडेली प्रविधिका सामग्री प्रयोग गरेकाले खासै जोखिम हुँदैछ ।’ पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालयलगायतका निकायबाट स्वीकृति लिएर नै व्यवसाय सञ्चालन गरिएको बताउँदै केदारजीले सरकारको नियमानुसार पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमासमेत व्यवस्था भएको बताउनुभयो ।
संरचनाका हिसाबले सामान्य देखिए पनि धुलिखेल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकाले बनाउने ठाउँमा माटो परीक्षणपछि मात्रै टावर हालिएको उहाँको भनाइ छ । प्रयोग गरिएका सबै सामान अन्तर्राष्ट्रियस्तर मापदण्ड र गुणस्तरीय रहेको सञ्चालकको भनाइ छ । जिपलाइनिङ गर्न तौल र सबै प्रकारका स्वास्थ्य जाँचपछि मात्रै खेलमा सहभागी गरिने नियम पनि छ ।
के हो जिपलाइन ?डोरीमा झुन्डिएर एउटा डाँडाबाट अर्को डाँडामा पुग्न सकिने साहसिक खेल हो जिपलाइन ।
नेपालमा कहाँ कहाँ छ ?काभ्रेको पर्यटकीय क्षेत्र धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सीमाको खावामास्थित थाक्लेडाँडामा साहसिक खेल (जिपलाइन) सञ्चालनमा छ । धुलिखेलमा सुरु गरिएको नेपालकै दोस्रो जिपलाइन् हो । त्यस्तै, नेपालकै सुपरम्यान जिपलाइन हुने पहिलो हो ।
विश्वमा कहाँ कहा कहाँ छ ?विश्वका विभिन्न देशमा जिपलाइन सञ्चालित छ । यसलाई विशेष गरी साहसिक खेल मानिन्छ । सन् २०१८ को फेब्रुअरीमा युनाइटेड अरब इमिरेट्स (युएई) मा विश्वकै लामो जिपलाइन खोलिएको छ ।
‘जिपलाइन’ कसरी गर्न सकिन्छ ?‘जिपलाइन’ मा तीन प्रकारका साहसिक खेल हुन्छन् । एकजना मात्रै खेल्न मिल्ने गरी क्लासिक जिपलाइन, दुईजना अर्थात प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कपल जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यानसहित तीन प्रकारको साहसिक खेल सञ्चालनमा छ । पर्यटकहरुको आफ्नै रोजाई र इच्छाका आधारमा ‘जिपलाइन’ को मजा लिन सकिन्छ ।
‘जिपलाइन’ मा कसरी मजा लिने ?धुलिखेल–८, थाक्लेडाँडादेखि ‘टेक अफ’ सुरु हुन्छ तब मात्रै देख्न सकिन्छ हरिया जंगल अनि अनि अगाडिका मनोरम हिमाली दृश्य । अनुभूत हुन्छ शितल मौसम । पाँचखाल–५, खावामा ‘ल्यान्डिङ’ नभएसम्म खेलाडीले निकै रमाइलो र आनन्द महसुस गर्छन् । एक मिनेट २० सेकण्ड आनन्द लिन सकिने साहसिक खेलको महत्वपूर्ण पक्ष ‘सुपरम्यान’ हो । समुन्द्री सतहदेखि एक हजार तीनसय मिटर उचाइबाट शुरु भएर ‘भर्टिकल ड्रप’ दुई सय ४० फिट हुँदै एक हजार दुई सय मिटर उचाइमा पुग्दा खेलाडीले भरपुर आनन्द महसुस गर्नेछन् । करिब एक मिनेट हावामा उड्दाको आनन्द बेग्लै हुनेछ । ‘माथिबाट जंगल, फाँट, घर साथै विभिन्न दृष्यावलोकन गर्दा हुने अनुभूति वर्णनमा कमै हुन्छ । अझ कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसेर चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्दाको मजा अलौकिक र अद्वितीय हुनेछ ।
‘जिपलाइन’ को दूरी कति छ ?थाक्लेडाँडादेखि खावासम्म जिपलाइनको दूरी करिब एक हजार एकसय मिटर छ । समुन्द्री सतहदेखि एक हजार तीनसय मिटर उचाइबाट शुरु भएर एक हजार दुई सय मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटर छ ।
नेपाली पर्यटन बजारमा नयाँ प्रोडक्टसाहसिक खेल ‘जिपलाइन’ नेपाली पर्यटन बजारमा नितान्त नयाँ र फरक प्रोडक्ट हो । यसअघि पोखरामा पनि जीपलाइन सेवा भए पनि यसमा खेलिने सुपरम्यान खेल र जोडीले गर्ने खेल पहिलो भएको सञ्चालक केदार थापाको दावी छ । उनका अनुसार, नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालन गरिएको हो । ‘नेपाल आउने पर्यटकले औधी रुचाउने ‘सुपरम्यान फ्लाइङ’ नेपाली पर्यटकमाझ पनि प्रिय बन्दै छ,’ सञ्चालक थापाले भन्नुभयो, ‘यही बाटो भएर आउने आन्तरिक तथा बाह्य पर्यटक एकपटक सवारी रोकेरै भए पनि ‘जिपलाइन’ को मज्जा लिइरहेका छन् ।’
जिपलाइनमा रोजगारीजिपलाइनमा प्रत्यक्ष र अप्रत्यक्ष २० देखि २५ जनालाई रोजगारी भएको छ । ‘टक अफ’ र ‘ल्याण्डिङ’ दुवैतर्फ १०, यात्रु ‘रिसिभ’ का लागि २ र अन्य होटलमा कार्यरत छन् । व्यवसाय फस्टाउँदै गएपछि रोजगारी बढ्ने छ ।
डोरीमा उड्न कति लाग्छ बजेट ?‘जिपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक छ । साहसिक खेलका लागि नेपाली नागरिकले प्रतिव्यक्ति क्लासिकमा २ हजार ५ सय, सुपरम्यानको ३ हजार ५ सय र जोडीका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको छ । सार्क र अन्य मुलुकका हकमा ३५ देखि ४० डलर शुल्क तोकिएको छ । फोटो र भिडियोको पनि व्यवस्था छ ।
लगानीमा कतिजिपलाइनका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको छ । झण्डै ६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । व्यवसाय सञ्चालनका लागि ७० रोपनी जग्गामा संरचना निर्माण गरिएको छ ।
धुलिखेल पर्यटकीय क्षेत्र हो । जिपलाइनका लागि ‘वर्ल्डवाइड एड्भेञ्चर प्रालि’ दर्ता गरीे व्यवसाय सुरू गरिएको छ । पर्यटन प्रवद्र्धन प्रमुख उद्देश्य हो । आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै छ । दैनिकजसो ५०–६० जना जिपलाइन गर्न लागि धुलिखेल पुग्छन् । शुक्रबार र शनिबार संख्या अरु बढ्छ । जिपलाइन सञ्चालनमा आएपछि काभ्रेको धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यकटमा थप आकर्षण बढेको छ ।
सूर्योदयको मनमोहक दृश्यावलोकनसँगै दर्जनौँ हिमशृंखला एकैपटक अवलोकन गर्न सकिने स्वच्छ, शान्त रमणीय स्थल धुलिखेलले स्वदेशी तथा विदेशी पर्यटकलाई यसै मोहनी लगाएकै छ । सुपरम्यान जिपलाइन सेवा आरम्भपछि धुलिखेलको पहिचानसमेत फेरिएको छ ।
काठमाडौंबाट नजिकैको पर्यटकीय गन्तव्यमा साहसिक खेलको अवसर थिएन । बञ्जीका लागि सिन्धुपाल्चोक र जिपलाइनका लागि पोखरा नै पुग्नु पथ्र्यो । अब यो अवसर धुलिखेलमै उपलब्ध भएको छ । धुलिखेललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन र पर्यटकलाई लोभ्याउन थप मद्दत पुग्ने छ । पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको ‘जिपलाइन’ ले युवा पुस्ताको मन लोभ्याएको छ । ‘पिकनिक’ र घुम्न मात्रै धुलिखेल पुग्नेहरु अब त्यतिकै फर्कनु पर्दैन । उनीहरुले अब प्याराग्लाइडिङ, बञ्जीजस्तै साहसिक खेल ‘जिपलाइन’को मजा लिन पाउने छन् । एकपटक पुग्नुहोस् है तपाईं पनि !(कमला, रेडियो जनता ८९.१ मा समाचार शाखामा आवद्ध छिन्)