काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिबिसौनादेउपुरकी २४ वर्षीया सरिता दुलालको हत्या आरोपी पाँचैजनालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।
जिल्ला अदालतको जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले हत्याका आरोपी मृतक सरिताका श्रीमान् सुदिप दुलाल, ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगीता दुलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
१३ वैशाखमा घरमै घाँटीमा निलो डाम भएको अवस्थामा सरिताको शव उनकै घरमा फेला परेको थियो । उनको परिवारकै सदस्यबाट हत्या भएको भन्दै स्थानीयको दबावपछि प्रहरीले श्रीमान् बाहेक चार जनालाई नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट श्रीमान् सुदिपलाई गाँउमै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पाँचैजना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि हत्या गरिएकी सरिताका श्रीमान् सुदिपले आफै मात्रैले हत्या नगरेको भन्दै सामुहिक रुपमा हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो । ‘हत्यामा एक व्यक्तिको मात्रै प्रयोग नभएकाले प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियौ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका एक अधिकृतले बताए ।
प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक व्यक्तिबाट मात्रै नभएको देखाएपछि अनुसन्धान फराकिलो बनाएको थियो ।
विवाहको पाँच बर्षसम्म निरन्तर रुपमा दुलाल परिवारमा नागरिकतासँगै सम्पत्तिको बिषयमा विवाद हुँदै आएको थियो ।
मृतकका श्रीमान् सुदिपले प्रहरी बयानमा बुबा पिताम्बर, आमा रोमकुमारी, दाई केशव र भाउजु संगीता समेतले धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न भनेर उस्काएपछि हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।, राजधानी दैनिकले समाचार छापेको छ ।