सुनसरी । धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले गत वर्षदेखि शुरु गरेको धरान वर्ष खेलाडी घोषणालाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
गत साल एक खेलाडीलाई मात्रै वर्ष खेलाडीको रुपमा सम्मान गरिएकाेमा यस वर्षदेखि २ खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
शुक्रबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले यो वर्षको धरान वर्ष खेलाडी २०७५ बाट युवा गल्फ खेलाडी शुक्रबहादुर राई र पुर्व टेवल टेनिस खेलाडी गीता थापालाई सम्मान गर्नुभएकाे छ ।
प्रतिभावान गल्फ खेलाडी राई एक लाख रुपैयाँ सहित सम्मान पत्रले सम्मानित भएका छन् भने टेबल टेनिसकी पुर्व खेलाडी थापालाई नगद ५० हजार र सम्मान पत्रले सम्मान गरिएको छ । थापालाई सम्मान पत्र प्रदान गर्दै भण्डारीले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रशिक्षक पदमा नियुक्ति दिने घोषणा गर्नुभयाे ।
धरानका खेलाडीले २०७५ सालभरि आफ्नो खेल विधामा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रर्दशन र उपलब्धीको आधारमा वर्ष खेलाडी पुरस्कार दिइएको नगर खेलकुद विकास समितिका सदस्य विकास चाम्लिङले बताउनु भयाे ।
धरान फुटवल क्लवका अध्यक्ष एवं एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किसोर राई, बास्केट बल संघका केन्द्रिय उपाध्यक्ष सुरज लामा, नेकपाका नेता नारायण सुवेदीलगायतले धरानको खेल जगतलाई माथि उठाउन उपमहानगरले गरेको प्रयास प्रंशसनीय भएको वताउनु भयाे ।