फाइल तस्बिर
धादिङ । पुस्तौदेखि कन्दमुलबाट गुजारा चलाउँदै आएका चेपाङहरुको जीवन शैली फेरिने भएको छ । जंगल तथा बस्ती वरपरका कान्ला खोस्रेर जीवन बिताइरहेका चेपाङहरु केही वर्षपछि पर्यटकको सेवामा तल्लीन हुनेछन् ।
सरकारले चेपाङ गाउँलाई पर्यटकीय बस्ती बनाउने योजना बनाएको छ । त्यसको लागि गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु भएको छ । धादिङ, मकवानपुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि पदमार्ग उपयुक्त हुनेछ । पदमार्ग बनेपछि चेपाङबस्तीको अलावा अन्य गाउँ पनि पर्यटकीय ठाउँ बन्नेछ ।
अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको विकास गर्न सकिने निष्कर्ष निकालिएको छ । एउटै पदमार्गबाट बाह्य तथा आन्तरिक पर्यटकले तीन जिल्लाको सांस्कृतिक, धार्मिक र प्राकृतिक सौन्दर्य अवलोकन गर्न सक्नेछन् ।
सरकारको नीति तथा कार्यक्रममा पदमार्गको उल्लेख गरिएपछि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले सम्भाव्यता अध्ययन शुरु गरेको हो ।
चन्द्रागिरीको दर्शन गरेपछि पर्यटकलार्ई चितवनको शक्तिखोरसम्म पदमार्गमा लैजान सकिने छ । अध्ययनका क्रममा टोलीले धादिङको धुनीबेँसी ननगरपालिका वडा नम्बर ७ को तोपलाङ, मजुवा, लिखु, धुनीबेँसी, गुर्दुम, मकवानपुरको थाहानगर नगरपालिकाको वडा नम्बर १० को सलामपुर हुँदै धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ को पोखरीचौर, दामीचौर, वडा नम्बर ६ को रानीझरना, वडा नम्बर ३ को भूमिचुली र झण्डाचुलीको अध्ययन गरेको थियो ।
यस्तै धादिङ र मकवानपुरको सीमाक्षेत्रमा पर्ने झण्डाचुलीबाट १४ जिल्ला र १२ हिमाल हेर्न सकिन्छ । झण्डाचुलीबाट गणेश हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छे« हिमाल, मनास्लु, जुगल, गौरीशङ्करलगायतका १२ हिमालका दृश्य हेर्न सकिने गल्छी गाउँपालिकाको वडा नम्बर ६ कोइलीखर्कका स्थानीय गोपाल तामाङले जानकारी दिनुभयो ।
धादिङको गल्छी गाउँपमलिकाको वडा नम्बर ५ कोइलीखर्क, गजुरी नगरपालिकाको सुन्दरनागी, बेनीघाट रोराङ गाउँपालिका ८ स्थित नोहक गुफाको अवलोकन गर्दै चितवनको राप्ती नगरपालिको सानान्द्रगढी र इच्छाकामना गापाको चेपाङ बस्तीको अवलोकन गरेको टोलीका रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
काठमाडौँको चन्द्रागिरीदेखि चितवनको शक्तिखोरसम्म पर्यटकलाई पदयात्रा गराउँदा संस्कृति, कला, सांस्कृतिक सम्पदा र जडीबुटीबारे जानकारी दिन सकिने उहाँले बताउनुभयो । थाक्रेको वडा नम्बर ६ स्थित रानीबारीमा रहेको रानीझरनामा क्यानोनिङका लागि उपयुक्त छ ।
पदमार्गमा पर्ने मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित कैलाश बैकुण्ठ शक्तिपीठलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । पदमार्गका क्रममा पर्यटकले आफूलाई इच्छाअनुसारको त्रिशूली नदीमा रयाफटिङ, मनकामना दर्शन, चितवनको सौराहा, पोखरासम्म जान सक्नेछन् ।
टानका सदस्य पूर्णकुमार शेर्पाले पदमार्गमा पाइएका अध्ययनले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पदमार्गमा पर्ने ठाउँ पर्यटकीय क्षेत्रका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले पदमार्गमा सांस्कृतिक पर्यटनस्थल रहेकाले नेपाल भ्रमण वर्षमा पर्यटन भित्र्याउन सकिने बताउनुभयो ।
टानका अनुसन्धानकर्ता सेर्फु शेर्पाले पदमार्गमा पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय क्षेत्र रहेको बताउनुभयो । ‘पदमार्गमा पर्ने तामाङ र चेपाङ समुदायमा होमस्टे (घरबास) सञ्चालन गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘यसका लागि पहिले भौतिक पूर्वाधार र समुदायमा जनचेतना जगाउन आवश्यक छ ।’