भगीरथ भण्डारी
इलाम । अलैँचीमा छिर्के, फुर्के, गानो कुहिनेलगायतका रोग लाग्न थालेपछि फूलमै ओइलाउन थालेको छ ।
खोल्साको सुन र कालो हिराको उपमा पाएको अलैँचीमा रोग लाग्न थालेपछि किसान निरास बन्न थालेका छन् ।
खोल्सामा फल्ने भएकाले खोल्साको सुन तथा सुकाउदा कालो रंग देखिने र निकै मूल्यवान हुने भएकाले कालो हिरा भनिएको हो ।
रोगका कारण अलैँचीको झाँङ्ग सुक्न थालेपछि बगानमा समस्या देखिन थालेको अलैँची किसान मुना ढकाल बताउनु हुन्छ । रोगकाे प्रकोप नियन्त्रणका लागि इलामको फिक्कल, पान्दाममा अलैँची विकास केन्द्र स्थापना गरे पनि किसानका लागि सहयोगी नबनेको किसानको गुनासो छ । तर अलैँची सम्बन्धी तालिम, अध्ययन लगायत प्राविधिक सेवा पुर्याउँदै आएको फिक्कल केन्द्रका प्रमुख पदम अधिकारीकाे भनाइ छ ।
खेती गर्न सजिलाे र राम्रो मूल्य पाउने भएकाले प्राय किसानले अलैची खेती गर्दै आइरहेका छन् । स्थानीय बजारमा अलैँचीको मूल्य प्रतिमन ३१ हजार रहेको छ ।
नेपालको पूर्वाञ्चलका पहाडी जिल्लाबाट शुरु भएको अलैँची खेती देशका विभिन्न जिल्लामा बिस्तार भएका छन् । नेपाल सरकारले २०३९ सालमा पूर्वाञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लालाई अलैँची विकास क्षेत्र घोषणा गरेको थियो ।
अलैँचीको खेती समुद्र सतहबाट ७ सयदेखी दुई हजार एक सय मिटरको उचाइसम्म हुने गरेको छ ।