विनु तिम्सिना
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा बम भनी लेखिएको प्रेसर कुकरभित्र साबुनको टुक्रा भेटिएको छ ।
खतरा लेखिएको शंकास्पद प्रेसरकुकर भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि उसले पनि केही मेसो पाउन सकेन । त्यसपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलायो ।
सेनाको बम डिस्पोजल टोलीले कुकर भए छेउतिर गयो । डिस्पोजलको तयारी गर्न थाल्यो । स्क्यानर लगाएर हेर्दा त्यसभित्र बमको संकेत नदेखिएपछि प्रेसरकुकर खोलेर हेर्दा त्यसभित्र साबुनको टुक्रा भेटिएको हो ।
यस्तै सेनाको बम डिस्पोजल टोलीले सुनसरी र मोरङका चार स्थानमा राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
विप्लव समुहले मोरङका तीन र सुनसरीको एक स्थानमा कुकर बम राखेको थियो । प्रहरीका अनुसार मोरङको सुन्दरहरैंचा–७ ढडिया, बुढीगंगा गाउँपालिका–१ र सुनसरीको धरान सडक खण्ड अन्तर्गत चारकोसे झाडी क्षेत्रमा कुकुर बम भेटिएको थियो ।
बम नेपाली सेना पुर्वी पृतना इटहरी र विराटनगर विमानस्थल सुरक्षार्थ खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।
बन्दका कारण पुर्वपश्चिम राजमार्गमा सामान्य प्रभाव देखिएको जनाइएको छ । मोरङको विराटनगर आउने र जाने यात्रुवाहक सवारी साधन पनि कम चलेका छन् । सिटी रिक्सा, अटो, मोटरसाइकल जस्ता सवारी साधन भने चलिरहेका देखिन्छन् । शिक्षण संस्था बन्द भएका छन् ।