काठमाडाैं । पाँचथरमा भएको रहस्यमय र विभत्स हत्याकाण्ड जसले देशनै स्तब्ध हुन बाध्य बनायो । मध्यराति भएको यो हत्याकाण्डमा धारिलो हतियार प्रहारबाट दुई परिवारका गरी नौजनाको विभत्स हत्या हुन पुग्याे ।
नातामा ससुरा र ज्वाइँ पर्ने दुई परिवारकाे वंश नै नाश हुने गरी ८ वर्षकी बालिकादेखि ७४ वर्षका वृद्धसम्मको हत्या हुन पुग्याे ।
यो विभत्स हत्याको अर्को रहस्यको पाटो यो पनि हो कि हत्याको शंका गरिएका व्यक्ति दुई किलोमिटर पर केही पहिचानका चिन्हसहित रुखमा झुण्डिएर आत्महत्या गरेकाे अवस्थामा भेटिनु ।
जेठ ६ गते भएको यो हत्याकाण्डमा ज्यान गुमाउनेमा ७५ वर्षीय बमबहादुर फियाक तथा उनकी श्रीमती पुर्सिमाया फियाक, २६ वर्षीया मनकुमारी फियाक, १० वर्षीया आशेकुमारी फियाक, ३६ वर्षीय धनराज शेर्मा, ८ वर्षीया इच्छा शेर्मा, १० वर्षीय मुना शेर्मा र १२ वर्षीया युहाना शेर्मा रहेका छन् ।
धनराजको परिवारका पाँच जनाको शव घरभित्रै थियो भने बमबहादुर परिवारको चार जनाको शव घरभित्र र बाहिर छरपष्ट अवस्थामा भेटिएको थियो । बमबहादुरकी छोरीकी छोरी १२ वर्षीया सीता खजुम पढ्न बमबहादुरको घरमानै बस्ने गरेकि थिइन् । राति अन्धाधुन्द खुकुरी प्रहार हुन थालेपछि सीता खुजुम भागेर बाँच्न सफल भइन् ।
रातिको घटना स्थानीयले बिहानमात्रै थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्वारका लागि प्रहरी घटनास्थल पुग्यो । घटनास्थलको अवलोकन गरी घटनाको प्रकृति गम्भीर भएको भन्दै प्रहरीले केन्द्रमा खबर गर्यो ।
जानकारी पाएसँगै काठमाडौंबाट केन्द्रिय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोली घटनास्थल पुगे । प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो हत्याकाण्ड हुनुमा पारिवारिक कलह भएको अनुमान गरिएको छ ।
प्रहरी अनुसन्धान तथा घटनास्थलका बारेमा थप जानकारीका लागि जनता टेलिभिजनको कार्यक्रम सिएमडब्लुले तयार पारेको यो भिडियोः
https://www.youtube.com/watch?v=9HuMHTh91rI&fbclid=IwAR1XcsIwBvqRzQ64rIyAlzAks2_HWHHsrJXnCs_28DPwRxDf5WqmUbuKxKo