विनु तिम्सिना
विराटनगर । प्रदेश नम्बर १ सरकारले विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ ।
प्रदेशसभाको चौथो अधिवेशन सुरु भएकै दिन सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयक संसदमा पेश गर्नुभएको हो । विधेयकमा प्रदेशलाई सुरक्षित प्रदेशको रुपमा विकास गरी संघीय सरकार र स्थानीय तहसँगको समन्वय सहकार्य र साझेदारीबाट नागरिकको हकहित तथा मानवअधिकारको संरक्षण गरिने उल्लेख छ ।
यस्तै विधेयकमा जलस्रोत, भूमि र वनक्षेत्रको उचित संरक्षण र परिचालन गरिने, राजस्वको दायरा विस्तारमा जोड दिँदै राजस्व चुहावट नियन्त्रण गरिने, प्रदेशमा रहेका नदी ताल तथा सिमसार जलाधार क्षेत्रको संरक्षणका लागि एकीकृत जलाधार संरक्षण कार्यक्रम संचालन गर्ने विषय समेटिएको छ । त्यसैगरी दातृ निकायको सहयोगमा नदी नियन्त्रणको कार्य अगाडि बढाउने, प्रदेशमा अपुग स्रोतको निर्धारण गरी आन्तरिक ऋण उठाउन संघीय सरकारसँग स्वीकृति लिने विषयलाई पनि विधेयकमा समेटिएको मन्त्री आङ्बोले बताउनुभयो ।
मन्त्री आङ्बोले निर्वाहमुखी र परम्परागत कृषि प्रणाली अन्त्य गर्दै कृषिको व्यवसायीकरण, औद्योगिकरण, विविधिकरण र आधुनिकीकरण गरी उत्पादकत्व र उत्पादनमा वृद्धि गर्ने पनि उल्लेख गर्नुभयो ।
यस्तै प्रदेशमा अण्डा, माछा–मासु, फलफूल तथा दूधमा आत्मनिर्भर हुँदै आयात प्रतिस्थापन एवं व्यवसायीक बालिहरुको उत्पादन र प्रशोधन गरी निर्यात प्रबद्र्धनमा जोड दिने मन्त्रीको भनाइ छ । प्रदेशले उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, डिजिटल प्रदेश निर्माण गर्ने अवधारणा अनुसार प्रदेशभित्र रहेका महानगरपालिका, उपमहानगरपािलका एवं नगरपालिकाहरुलाई सम्भाव्यताका आधारमा सूचना प्रविधियुक्त सहरहरुको रुपमा विकास गर्ने, शिक्षाको गुणस्तर अभिवृद्धि गर्न इ–एजुकेसन र पूर्वाधार विकासमा सहयोग गर्ने, उच्च शिक्षालाई रोजगारमूलक, गुणस्तरीय एवं व्यवस्थित बनाउन एवं प्राविधिक शिक्षालाई विस्तार गर्न पहल गर्ने मन्त्री आङ्बोले बताउनुभयो । मन्त्री आङ्बोले असारमा विकास बजेट सक्ने गरी विकास निर्माण तीब्र हुने परिस्थितिलाई अन्त्य गर्दै सम्पूर्ण विकास बजेट जेठ मसान्तसम्मामै खर्च गरिसक्ने व्यवस्था गर्ने स्पस्ट पार्नुभयो ।
मन्त्री आङ्बोले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा आजदेखि छलफल सुरु भएको हो । संसदको बैठक भोलि (मंगलबार) दिउँसो १ बजे पुन बस्नेछ ।