विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाईं यति आक्रोशित हुनुभएको छ भने तपाईंहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बाआमा रुनु भएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस्
काठमाडौँ । मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र मधेसमा सक्रिय डा. सिके राउतलाई घृणा र विखण्डनको खेती नगर्न आग्रह गरेका छन् । विप्लवले लेख लेखेर पहाडीको ओच्छ्यानमा बम पड्काउने भनेका थिए भने सिके राउतले सामाजिक सञ्जालमा पहाडीविरुद्ध स्ट्याटस लेखेका थिए । सोमबार बिहानै कृष्ण पहाडीले प्रेस विज्ञप्ति जारी गर्दै मधेस विखण्डनको मुद्दाले मधेस समस्या खेपिरहेको र विप्लवले हिंसामार्फत एकदलीय शासन ल्याउने धृष्टता सम्भव नहुने बताएका छन् । पहाडीको विज्ञप्ति यस्तो छः
प्रेस विज्ञप्ति
मेरो ओछ्यानमुनी बम पड्काउने लगायतका आक्रोशबारे
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा २०७४ पुस २० गते लिखित कृष्ण पहाडीको चित्कार शीर्षकमा ‘बम पहाडीको ओच्छ्यानमुनि नै पड्काउने दिन नआउला भन्न सकिदैन’ भन्ने धारणासहित मप्रति केन्द्रित ४ पृष्ठ लामो लेख र घृणा र विखण्डनको अभियानकर्ता डा. सिके राउतले मेराबारे पुस २१ गते सामाजिक सञ्जालमा ओकलेको विषप्रति मेरो ध्यानाकर्षण भएको छ ।
त्यसो त २ वर्ष अगाडि तराईको सशस्त्र समूहका मुखिया जयकृष्ण गोइतको मप्रति लक्षित आक्रोश सार्वजनिक भएकै हो । उहाँहरुको विचार आफ्नो ठाँउमा छ, तर सबैलाई म प्रष्ट पार्न चाहन्छु, भय भन्ने शब्द मेरो जीवनको शब्दकोषमा छैन । मेरो भौतिक उपस्थिति र विचारको समुपस्थिति रहेसम्म हिंसाको माध्यमबाट एकदलीय कम्युनिष्ट शासन स्थापना हुन नसक्ने निचोडले विप्लव र घृणाको खेती गर्दै विखण्डनको अभिष्ट पूरा हुन नसक्ने निचोडले राउत आक्रान्त भएको देखिन्छ ।
म विनम्रताका साथ विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाईं यति आक्रोशित हुनुभएको छ भने तपाईंहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बा आमा रुनु भएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस् । आफ्नो अन्तरआत्मालाई घच्घच्याउनुहोस् । तपाईंहरुको उmर्जा यो देशलाई खाँचो छ । आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस् । तपाईंहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस् ।
म कसैलाई पनि शत्रु ठान्दिनँ । डा. सिके राउतलाई पनि मेरो विनम्र आग्रह छ, सद्भावलाई आफ्नो उmर्जाको आधार बनाउनुहोस् । घृणा र विखण्डनको मार्ग त्याग गर्नुहोस् । तपाईंले अवलम्बन गरेको घृणा र विखण्डन मार्गले मधेशको उत्थान र प्रगतिलाई नै क्षति पु¥याइरहेको त छैन ? पुनरावलोकन गर्नुहोस् ।
इतिहासको कालखण्डमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नागरिकस्तरबाट आन्दोलनको नेतृत्व गर्ने अवसर मैले पाएँ । मेरो उपस्थिति पूर्वराजा ज्ञानेन्द्र र राजतन्त्रको पुनःस्थापना चाहनेहरुलाई जहिले पनि खड्किने रहेछ भन्ने तथ्य एकदशक अगाडि मेरो निवासमा बम राखिएको घटना र आरोपको खेतीले स्पष्ट गर्छ । लामो समयदेखि बिरामी मेरी आमा विछ्यौनामा थला परेका बेला केही साताअघि मेरो निधन भएको अफवाह मेरो तस्बिरसहित केही अनलाइन सञ्चारमाध्यममा कुद्यो भने मेरो मृत्युको समाचार सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाउने कोशिस गरियो । कतिपयले मप्रति श्रद्धाञ्जलीसमेत अर्पण गर्न र मेरो कामको लेखाजोखा गर्न भ्याए । ममाथि प्रहार गर्ने क्रममा मेरा सात पुस्तालाई गाली गर्ने र ८० वर्ष नाघेका मेरा परिवारका सदस्यलाई सामाजिक सञ्जालमा निसाना साँध्नेहरुको मानसिकताप्रति मलाइ दया लागेर आउँछ ।
भविष्यमा विप्लवले मेरो ओछ्यानमुनि बम पड्काउने र घृणा र विखण्डनका अभियानकर्ताले मेरो छातीमा बन्दुक तेस्र्याउने दिन आएछ भने पनि घृणा विखण्डनलाई मलजल गर्ने मानवअधिकार संस्था वा व्यक्तिहरुबाट कुनै पनि सहानुभूति म स्वीकार गर्दिनँ । राष्ट्रिय स्वाभिमान, अहिंसा, सद्भाव, शान्ति, लोकतन्त्र, मानवअधिकारका पक्षमा मेरो विचार निरन्तर प्रवाहित भइरहने छ ।
कृष्ण पहाडीमितिः २०७४–०९–२३