भगीरथ भण्डारी
इलाम । जिल्लाको पश्चिमी रहेकाे फाकफोकथुम गाउँपालिकालाई विकास निर्माणको भुक्तानी गर्न चटारो छ । कर्मचारी अभावले सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रदान गर्न समस्या देखिएको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन भइसकेका योजना धमाधम भुक्तानी भइरहेका छन । दैनिक जसो १५, २० वटा योजनाको भुक्तानीका लागि उपभोक्ता समितिका पदाधिकारी आउने गरेका छन् ।
गाउँपालिकामा सडक, विद्युत, खानेपानी, सिंचाईलगायत पूर्वाधारका साथै अन्य विभिन्न कामको समेत भुक्तानीका लागि सेवाग्राहीको चाप छ । कर्मचारी समायोजन भएपनि गाउँपालिकाका लागि आउने कर्मचारी नदेखिएको कारण भएका कर्मचारीलाई काम फर्सोटमा समस्या देखिएको छ ।
गाउँपालिकामा ३९ जना कर्मचारीको दरबन्दी भएपनि ४ कर्मचारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिनुभयो । ‘गाउँपालिकामा ३ जना सचिवले ७ वटा वडा कार्यालय सञ्चालन गरिरहेका छन’ उहाँले भन्नुभयो, ‘प्राविधिकले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।’
लेखा शाखामा लेखाअधिकृतसहित लेखापाल र सहलेखापालको दरबन्दी रहेपनि सहलेखापाल मात्र छन । यसअघिका लेखापाल पाँचथरमा सरूवा भएपछि लेखाशाखामा कामको चाप बढेको हो । लेखापाल गाउँपालिकामा नहुनाले योजनाको भुक्तानीको काम अघि बढ्न नसकेको सेवाग्राहीको गुनासो छ ।
आर्थिक वर्षको अन्त्य भएकाले गाउँपालिकाले सञ्चालन गरेका योजनाहरूको भुक्तानी लिन आउने सेवाग्राहीको दिनप्रतिदिन चाप बढेको सहलेखापाल मधुर नेपाली बताउनुहुन्छ । प्रक्रिया पुगेर आएका सेवाग्राहीको काम ढिला नगरी गरेका छौं, उहाँले भन्नुभयो ‘कर्मचारी अभावका बाबजुत पनि खटेर काम गरेका छौं ।’