तराईको पिछडिएको जिल्ला भनेर कुनै समय चिनिएको बर्दियाको पुरानो इतिहास परिवर्तनकाे संघारमा छ । राजनीतिक दलहरुले बर्दियाको विकासका लागि विभिन्न योजनाहरु ल्याइरहे पनि विकासको फड्को मार्न सकिरहेको थिएन । पुरानै चुनौतिका बीच एक वर्ष अघि मात्र प्रमुख जिल्ला अधिकारीका रुपमा बर्दिया आउनु भएका रामबहादुर कुरुम्बाङ्ग जिल्लालाई अलगै पहिचान बनाउन सफल हुनु भएको छ । विकास निर्माण तथा प्रशासनमा लापरबाही गर्नेलाई निर्ममतापूर्वक कानुनी कठघरामा उभ्याउने र पीडितलाई न्याय प्रदान गर्ने स्वभावले जनताको मनमा बस्न सफल प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गसँग जनतासमाचरका लागि प्रेम बुढाले गर्नुभएको कुराकानीको मुख्य अंशः
प्रमुख जिल्ला अधिकारीको रुपमा एक वर्षको कार्यकाललाई कसरी हेर्नुभएको छ ?
राजनीतिमार्फत निर्माण भएका नीतिको कार्यान्वयन गर्नमा कर्मचारीको ठूलो भूमिका रहन्छ । मेरो नेतृत्वमा जिल्लाको समग्र प्रशासन क्षेत्रमा धेरै ठूला काम गरेको जस्तो मैले अनुभव गरेको छु । जनतामा परिवर्तनको महशुस भएको छ । विकास, सुशासन लगायतका क्षेत्रमा अनगिन्ती कामहरु भएका छन् ।
बर्दियाको विकाससँग जोडिने नाम रामबहादुर कुरुम्बाङ्ग हो र त्यसको मुख्य कारण हुलाकी सडक हो । हुलाकी सडकको बारेमा के भन्नुहुन्छ ?
यहाँका करिब पचास प्रतिशत थारु समुदाय र अन्य समुदायको आर्थिक अवस्था कमजोर रहेको छ । यहाँको मुख्य समस्या भनेको बाढी हो । यो बाहेक अरु कुरामा निकै सम्भावना बोकेको जिल्ला हो । कृषिमा प्रदेश नम्बर ५ का जिल्ला मध्ये सबैभन्दा बढी खाद्यान्न निर्यात गर्ने जिल्ला हो । पूर्व–पश्चिम राजमार्गको मध्येविन्दु हुलाकी सडक बर्दियाको विकास र समृद्धिको जीवन रेखा हो । यो नबनेको अवस्थामा धेरै आर्थिक र सामाजिक समस्याहरु भोगिरहेकाले यो सडकको निर्माण अपरिहार्य छ भनेर निर्माण शुरु गरियो । असार महिनामा निर्माण सक्ने लक्ष्य लिएर काम भइरहेको छ । यो निर्माणपछि नागरिकको आर्थिक जीवनस्तर उकास्न ठूलो टेवा पुग्नेछ ।
विकृति हटाउन निकै कडा कदम चाल्ने भन्नुभएको थियो तर यो रोकियो भन्ने जनगुनासो छ नि ?
हामीले आउने वित्तिकै बजार अनुगमन शुरु गरेका थियौं । विभिन्न वस्तुमा अनियमितता गर्नेलाई पक्राउ गरी कारवाही गरेका छौं । तर कर्मचारीको अभाव र अनुगमनको अधिकार स्थानीय तहमा गएकाले केही रोकिए जस्तो भएको छ । जनप्रतिनिधिले अनुगमन गरेर कारबाही गर्न समस्या भएकाले यसमा प्रशासनको भूमिका आवश्यक छ भनेर यसको तयारी भएको जानकारी आएको छ ।
जहाँ विकास त्यहाँ रामबहादुर कुरुम्बाङ्ग भनेर जिल्लाबासीले बुझ्छन् । विकासमा नेतृत्व गरिरहँदा हिजो के कारणले बर्दिया पछि परेको रहेछ जस्तो लाग्छ ?
बर्दियामा उच्च ओहदाका राजनीतिज्ञहरु हुनुहुन्छ । जिल्लाको विकासमा उहाँहरुले ठूलो योजनाहरु ल्याउनु भएको छ र धेरै पैसा पनि आएको छ । हिजो जिल्लामा विकास नहुनुमा दुईवटाका कारण मैले देखेको छु । एउटा कारण हो राजनीतिज्ञले कार्यक्रम ल्याएपनि कार्यान्वयन गर्ने कर्मचारीतन्त्रले नै हो । विकास प्रशासन राम्रोसँग अगाडि बढ्न सकेन । अर्को कारणमा प्रशासनले राम्रोसँग समन्वयकारी भूमिका खेल्न नसक्दा पनि हुनु पर्ने जति विकासका काम हुन नसकेको हो ।
हिजोका प्रशासक असफल हुन् कि काम गर्ने वातावरण पाएनन् ? अहिलेको काम गराइ कस्तो छ ?
होईन । हुन त सबैतिर समस्या छ । तर प्रशासनतिर दिएको काम मात्रै गर्ने इनोभेटिभ भएर काम नगर्ने समस्या देखियो । हामीले अहिले बनाएको एक्सन प्लान अनुसार काम भइरहेको छ । कुन काम कुन समयमा गर्ने, कसरी गर्ने जस्ता आधारभुत कार्ययोजना बनाएर काम गरिरहेका छौं । आम नागरिकलाई कालोबजारीबाट जोगाउन बजार अनुगम, सुशान अभिवृद्धिका लागि प्रहरीसहित प्रशासनको प्रतिवद्धता, चोरी निकासी, पैठारी लगायत भ्रष्टाचार र तस्करीमा संलग्न कसैलाई पनि हामीले बाँकी राखेनौ । अहिले आम नागरिकमा प्रशासनको ठूलो बिश्वास रहेको छ । एक वर्षकाे अवधिमा हामीेले १५ वटा शिविर सञ्चालन गर्यौं । शिविरमा आउन नसक्ने अपाङ्गलाई घरमै गएर नागरिकता प्रदान गर्यौं । सरकार र नागरिकको सम्बन्ध सुमधुर भएको महशुस हामीले गरेका छौं ।
।
सेनाको जागिर छोडेर सिडियो बन्दा र सफलता पाउँदा कस्तो लाग्छ ?
कर्मचारी, मिडिया, सेना वा राजनीति जो जस्तो अवस्थामा भएपनि हामीले गर्ने भनेको राष्ट्रसेवा नै हो । एउटा कुनै कालखण्डमा म नेपाली सेना थिएँ र त्यो गौरवमय इतिहास भएको संस्थामा पसिना बगाएको छु । मैले सेना छोडेकाे होइन, स्वास्थ्यका कारण बाहिरिनु परेको हो । सेनामा रहँदा पनि देशसेवामा थिएँ, अहिले पनि देशसेवामा नै छु ।
सफल कर्मचारी हुनको लागि नैतिक आचरणको भूमिका कस्तो हुन्छ जस्ताे लाग्छ ?
लोकसेवा पास गरेर आएका कर्मचारी क्षमतावान नै हुन्छन् । कर्मचारी कतिको इमान्दार छ भन्ने कुराले मुख्य भूमिका खेल्छ । अनुसन्धानले के भनेको छ भने कसैले कति जानेको छ भन्ने कुरा बीस प्रतिशत मात्रै हो । असी प्रतिशत चाहिँ कर्मचारीको इमान्दारिताको भूमिका रहन्छ । कुनै ब्यक्ति क्षमतावान छ तर भ्रष्ट भइदियो भने त्यो घातक हुन्छ । क्षमता भएका कर्मचारीमा निष्ठा र इमान्दारिता नहुनु नै हाम्रो समस्या हो । हाम्रो समस्या भनेकै इमान्दारितामा खडेरी पर्नु हो ।
अबको बाँकी छोटो कार्यकालमा बर्दियालाई कुन स्तरमा पुर्याउने सोच बनाउनु भएको छ ?
जिल्लाको विकास निर्माण गर्ने राजनीतिक दल र यहाँका स्थानीयले नै हो । हाम्रो भूमिका भनेको चाहिँ राजनीतिक रुपमा तय भएको नीतिलाई सहज रुपमा अगाडि बढाउने मात्रै हो । विकासका काम गर्न बाँकी छ । सुशासनको क्षेत्रमा केही काम गर्ने योजना बनाएको छु र अझै केही समय बस्न पाइयो भने कृषि र पर्यटनको क्षेत्रका केही काम गर्ने योजना बनाएको छु ।
बर्दिया जिल्ला लागूऔषधको किल्ला बन्दै गएको छ । हाम्रा यूवालाई कसरी जोगाउन पहल गर्नुहुन्छ ?
हामीले गरेका सबै क्षेत्रमा नतिजा राम्रो आएको छ । हामीले गर्न नसकेको भनेकै लागूऔषधको क्षेत्रमा हो । जनचेतनाका कामहरु धेरै गर्यौं । दुर्व्यसनी पक्राउ पनि गर्यौ तर पनि यो घटिरहेको छैन । प्रहरी प्रसाशनले मात्रै पनि यो गर्न सक्दैन भन्ने लागेको छ । यसमा हामीले केही नयाँ ढङ्गले सम्बन्धित निकायसँग समन्वय गरेर जाने योजना बनाएका छौं ।
अन्त्यमा जनतासमाचार डट्कममार्फत बर्दियाको आम नागरिकलाई के भन्नुहुन्छ ?
जतिन्जेल बर्दियामा बसिन्छ त्यतिबेलासम्म सुशासन र विकासका लागि परिरहने छु । हामीले गरेको काममा मिडिया, राजनीतिक दल, नागरिक समाज तथा सबै बर्दियाबासीले सहयोग गरिरहनु भएको छ । बर्दियाबासी नागरिकलाई धेरैधेरै धन्यवाद ब्यक्त गर्न चाहन्छु ।