विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले पार्टी एकता हुनुअघि गरेको सहमतिको विषयमा बोलेको कुरालाई अनावश्यक पोलोराइज नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टीका नेता कार्यकर्ता, समर्थक, जनसमुदायलाई अनावश्यक प्रचार नगरी आरोप प्रत्यारोपमा नउत्रन आग्रह गर्नुभएको हो । आफूले भनेको कुरा नौलो नभइ सहमति भएको विषय पहिलेनै सार्वजनिक भएको बातउनुभयो ।
आफूले बोलेको विषयमा प्रधानमन्त्री तथा केपी शर्मा ओलीले दिल्लीमा दिएको अभिव्यक्ति प्रतिकात्मक भएको दाहालकाे भनाइ छ । पार्टी एकताको संन्दर्भमा भएका सहमतिको स्मरण मात्रै आफूले गरेको तर, बाहिर कोकोहोलो र प्रचारबाजी भएको उहाँको भनाइ छ ।
आगामी महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने–नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने बताउँदै उहाँले पार्टी एकताको सन्दर्भमा भएका सहमति भने इमान्दारीताका साथ पालना हुने विश्वास व्यक्त गर्नुभयो । आफूले गरेको कुराले र भएका प्रचारबाजीले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध अझ सुदृढ भएको उहाँको दाबी थियो ।
२० गते बस्ने पार्टी सचिवालयको बैठकले कार्यविभाजनसम्बन्धी आवश्यक निर्णय गर्ने जानकारी दिँदै प्रचण्डले आइतबार प्रस्तावलाई अन्तिम रुप दिन दुवै अध्यक्षबीच छलफल हुने बताउनुभयो ।
फरक प्रसंगमा दाहालले हिंजोको परिघटनाबाट नाकाबन्दी र संविधान निर्माणको विषयमा भएका घटनाको भारतले समिक्षा गरिसकेको र नेपालले पनि पुरै सतर्कता अपनाएको कारण भारतमा को विदेशमन्त्री भयो भन्ने कुराले नेपालसँगको सम्बन्धमा कुनै असर नगर्ने स्पष्ट पार्नुभयो ।