शम्भु दाहाल
इलाम । ‘म भ्रस्टचार गर्दिन । म भ्रष्टचार हुन दिन्न। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ भनेर आफ्नो कार्यालयको ढोकामा झुण्डाएका इलामका स्थानीय तहका २ इन्जिनियरले सेवा ग्राहीसँग खुलेआम घुस लिने गरेको खुलासा भएको छ ।
माई नगरपालिकाका सव—इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव—इन्जिनियर विकास राईले स्थानीय उपभोक्ता समितिसँग नगरपालिकाको वडा नम्बर ५ स्थित हाङ्गखिम—खरबनी सडकको स्टमेट बनाउँदा १० हजार रुपैयाँ रकम लिएको रहस्य खुलेको छ ।
उनले आफ्ना कार्यालयका अशिष्टेन सव—इन्जिनियर राईलाई ५ हजार र आफूलाई ५ हजार गरी १० हजार रुपैयाँ उपभोक्ता समितिका प्रतिनिधिसँग लिएका हुन् । उनले घुस लिएको भिडियो नै भेटिएको छ ।
सडक खण्डको कामका लागि इन्जिनियरद्वय ढकाल र राईले २५ हजार माग गरेका थिए । माघ महिनामा योजना सम्झौता गरी माघ अन्तिमा नै स्टमेट अनुसारको काम सके पनि मागे अनुसारको रकम नपाएपछि अहिले सम्म अनुगमनका लागि नआएको स्थानीय बालकृष्ण मगरले बताए । पटक पटक कामसम्मपन्न भयो आएर अनुगमन गरि दिनु पर्यो भनेर भ‘न्दा पनि बिभिन्न बहाना बनाएर टार्ने गरेको हाङ्गखिम—खरबनी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर मगरले बताए । त्यही वडाको धोबीखोला—बुच्चेटार—रमिते—हाङ्गखिमको बाटोको अनुगमनमा समेत सव—इन्जिनियर ढकालले ५ हजार रुपैयाँ रकम लिएको स्थानीय उपभोक्ता समितीका सह–सचिव सन्तोस राईले बताए ।
माई नगरपालिकाको ३, ५, ७ र ९ नम्बर वडा कार्यक्षेत्र रहेका ढकालले उपभोक्ता समितिले गर्ने निर्माण कार्यको प्राविधिक स्टमेट बनाउनेदेखि अनुगमन गर्ने काम गर्छन् । उपभोक्ता समितिलाई विभिन्न प्राविधिक समस्या र विभिन्न बाहना देखाएर ढकालले रकम असुल्ने गरेको स्थानीयको गुनासो छ ।
‘प्रत्येक वडामा साना ठूला गरी १ सयको हाराहारीमा उपभोक्ता समिति गठन गरेर निर्माणको काम भई रहेको छ’ स्थानीय लालबहादुर तामाङले भने ‘प्रत्येक उपभोक्ता समितिसँग न्यूनतम १० हजार रुपैयाँका दर लिँदा चार वटा वडाबाट कति रकम उनीहरुलाई बुझाउनुपर्छ तपाईंहरु नै हिसाव गर्नुहोस् ।’ ४ सय वटा उपभोक्ता समितिबाट १० हजारका दरले असुल्दा पनि ढकाल र राईले वार्षिक ४ करोड रुपैयाँ घुस रकम लिएको हुन सक्ने स्थानीयको अनुमान छ।
काम सम्पन्न गरीसकेपछि पनि अनुगमन नभएपछि उपभोक्ता समितिले नगरपालिकाको उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक विष्णुमाया रिमाल (आचार्य) लाई पटकपटक जानकारी गराउँदा पनि प्राविधिकलाई चित्त बुझाउँनु म आउनै पर्दै भन्ने जवाफ दिने गरेको स्थानीयको भनाई छ । सव–इन्जिनियर ढकालले इलाममा पँहुचवाला नेताको छत्रछाँयामा रहेर यस्तो हर्कत गरेको मेयर दिपक कुमार थेवेले थाहा पाएको तर विभिन्न कारणले कारबाही गर्न नसकेको बासिन्दाको बुझाई छ ।