प्रेम बुढा
बर्दिया । सिकलसेल एनिमिया रोगबाट अत्याधिक प्रभावित थारु समुदायको उपचार सहजताका लागि बर्दियालाई पश्चिम क्षेत्रको केन्द्र बनाई अस्पताल स्थापनार्थ सरकार लागि पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताउनुभएको छ ।
बर्दियालाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गरिने बारे सम्बन्धित निकायसँग छलफल गरी तत्काल काम अघि बढाईने यादवको भनाइ छ ।
बारबर्दियामा आईतवार भएको सिकलसेल एनिमिया रोग पहिचान नियन्त्रण र रोकथाम अभियान घोषणा कार्यक्रममा बोल्दै मन्त्री यादवले जिल्लामा अस्पताल बनाउने कुरा स्थानीयको माग भन्दा पनि आवश्यकता भएको बताउनुभयो ।
सिकलसेल प्रभावित जिल्लाका प्रत्येक वडाबाट सिकसेल स्कृनिङ (शरिरमा रोग भए/नभएको छुट्याउने प्रथम चरण) गर्ने गरि सरकारले बजेट छुट्याएको र प्रत्येक सम्भावित बिरामीको रगत जाँच गर्ने क्रममा सिकलसेल जाँच पनि सँगै गर्नु पनि मन्त्री यादवको भनाइ थियो ।
हामीले सिकलसेल रोगलाई जित्यौंः नगर प्रमुख
बहुसंख्यक थारु समुदाय बसोबास रहेको बारबर्दिया नगरपालिकाले रोग पहिचान नियन्त्रण र रोकथाम अभियान नै शुरु गरी नगरबाट सिकलसेल निर्मुल गर्ने साझा प्रतिबद्धता जनाएको छ ।
औपचारिक कार्यक्रममा बोल्दै मेयर दुर्गा बहादुर थारुले भन्नुभयो ‘हामीले अब सिकलसेल रोगलाई जितेका छौं, अब हाम्रो नगरपालिकामा सिकलसेल भएका बालबालिकाहरुको जन्मिने क्रम घटाउनु पर्ने छ, त्यसका लागि जनचेतना जगाउनु थप आवश्यक छ ।’
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बारबर्दियाका ११ वटै वडाका १० हजार ६ सय ७० घरधुरी मध्ये १ वर्षदेखि २९ वर्षका २४ हजार ११ जना महिला पुरुषको रगत नमूना संकलन गर्दा ११ दशलब ७ प्रतिशतमा सिकसेल रोगको संक्रमण देखिएको थियो । यो रगत नमूना संंकलन गरिएको जम्मा संख्याको १ हजार ८ सय २ जनामा संक्रमण पाईएको हो ।
कार्यक्रममा बाल स्वास्थ्य कार्ड तथा समुदायमा सिकलसेल एनिमियाका बारेमा जनचेतना फैलाउन पाठ्यक्रम तयार पारी माध्यमिक तह पढाउने किताबको समेत विमोचन गरिएको थियो ।