पाल्पा
सुनिल कार्की । तानसेनस्थित रानीमहल दरबारको जग तिव्र कटानमा परेको छ । कालीगण्डकी तीरमा चट्टानमाथि बनाइएको १ सय २१ वर्ष पुरानो दरबारको जग परीक्षण क्रममा ७ फिटसम्म कटान भएको भेटिएको हो ।
प्रेमको प्रतीक रानीमहल दरबार भत्किने अवस्थामा पुगेको भन्दै विभिन्न पक्षबाट चिन्ता भइरहेका बेला गोताखोर प्रयोग गरी जग कटानको परीक्षण गरिएको हो ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौंबाट आएका गोताखोर प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, हवलदार बलराम अधिकारी र पारस खाम्चाले रानीमहल जग कटानको परीक्षण गरेका हुन ।
रानीमहल निर्माण भएको १ सय २१ वर्ष अवधिमा ३ देखि ७ फिट रानीमहलको जग कटान गरेको गोताखोर समूहका प्रमुख भण्डारीले बताउनुभयो ।
कालीगण्डकी नदीको धार रानीमहलको जगतर्फ बगिरहेको र निरन्तर कटान भइरहेकाले प्रेमको प्रतीक ‘रानीमहल दरबार’ भत्किने हो कि भन्ने चिन्ता बढेको छ ।
रानीमहलको जग क्षेत्रतर्फ रहेको नदीको धार अर्कातर्फ पठाउने वा प्राकृतिक रूपमै रानीमहलतर्फ बगिरहेको धारलाई निरन्तरता दिने विषयमा अन्योल हुँदै आएको छ ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका गोताखोर प्रहरी निरीक्षक भण्डारीले रानीमहलको जग यही अवस्थामा कटान भए दुई÷तीन सय वर्षसम्म उच्च जोखिममा पर्ने बताउनुभयो ।
१९५४ राणा खड्गशमशरेरले कालीगण्डकी नदीको चट्टानमाथि रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार निर्माण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अगुवाइमा तानसेन नगरपालिका, सशस्त्र प्रहरी बल नम्बर ३५ गुल्मको सहयोगमा रानीमहलको जगमा गोताखोर परिचालन गरी जग कटानबारे जानकारी लिइएको हो ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीमहलको कुनै पनि तरिकाबाट खतरा नहोस, समयमै रानीमहललाई जोखिम हुनबाट बचाउन सकियोस भनी जग कटानबारे वास्तविक अवस्था पत्ता लागाउन गोताखोर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।