काठमाडाैं । अन्धविश्वासका कारण मानिस कुन अवस्थासम्म पुग्छ भन्ने कुरा धनुषाकाे याे घटनाले पुष्टि गरेकाे छ, जहाँ तान्त्रिक शक्ति प्राप्त गर्नका लागि नरबली दिइएकाे छ ।
साढे दुई वर्षीय बालकको घाँटी रेटेर हत्या गरिएको घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गर्ने क्रममा ६० भन्दा बढी स्थानीयलाई सोधपुछ गरिरहेकाे थियो तर हत्यारा पत्ता लाग्न सकिरहेकाे थिएन । बच्चाकाे हत्या गरेको २५ दिनपछि प्रहरीले गहिरो अनुसन्धान गरी हत्यारालाई सार्वजनिक गर्न सफल भएको छ । प्रहरी अनुसन्धानमा अभियुक्त शत्रुधन महतोले शक्तिशाली झाँक्री बन्न साढे २ वर्षीय बालकको बली दिएको बयान दिएकाे प्रहरीले जनाएकाे छ ।
वैशाख २३ गते बालकबाहेक अन्य कोही नदेखेपछि महतोले बालकलाई फकाएर आफ्नो घरमा बन्धक बनाएर राखेका थिए । बालकको घर र महत्तोको घरको दुरी एकसय मिटर बराबर मात्र भएकाे स्थानीयकाे भनाइ छ । घरमा बन्धक बनाएर राखिएका आर्यनलाई सोही रात दुई बजेको समयमा महतोले सिद्धि प्राप्त हुने अन्धविश्वासमा आफ्नै आँगनमा राखि धारिलो हतियार प्रयाेग गरी देवीदेउताको नाममा घाँटी रेटेर वलि दिएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
धनुषा जिल्लाकै अर्का धामी जङ्गली महतोको उक्साहटमा शत्रुधनले बालकको हत्या गरेको हल्ला चलेपछि जंगली महतो फरार भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका शत्रुधनले जंगलीबाट तन्त्रमन्त्र सिक्दै गरेको र सिद्धि प्राप्तिका लागि गत कार्त्तिक पूर्णिमादेखि नै तयारी गर्दै गरेको र सिद्धि प्राप्त भए नरबलि दिने बाचा पूरा गर्न बालकको हत्या गरेको बयान दिएका छन् ।
कथित झाँक्रीले बालकको हत्या गरी शव छिमेकी कृष्णनन्दन महतोको खेतकोे झाडीमा फालेका थिए ।
प्रहरीले निज शत्रुधन महत्तोको साथबाट एक थान धारिलो हतियार, घटनाको समयमा लगाएकोे कपडा बरामद गरेको छ । पक्राउ परेका महतो धाँमी काम गर्दै आएकाे बताइएकाे छ । तन्त्र विद्या सिद्ध गरी शक्तिशाली धाँमी बन्ने अन्धविश्वासले महतोले बालकको बली चढाएका थिए ।
मृतक बालक शम्भु साहका एक्ला छोरा हुन् । साह भने वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । मृतक बालकका हजुरबुबा पिताम्वर साह हलुवाईले शत्रुधन महतो विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् ।
झाँक्री महतोमाथि अपहरण, शरीर बन्धक तथा हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी अनुसन्धान तथा घटनास्थलका बारेमा थप जानकारीका लागि जनता टेलिभिजनको कार्यक्रम सिएमडब्लुले तयार पारेको यो भिडियोः
https://www.youtube.com/watch?v=-TvXmt6nzAk&list=PLT8LMrml4tPFAchkHk-SsM-nDFlwLBV34