सुखिलाल चौधरी
उदयपुर । उदयपुरमा एक विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
त्रियुगा नगरपालिका–६, घनचक्रे स्थित इन्द्रावती आधारभूत विद्यालयका ९ जना विद्यार्थी मुर्छा पर्ने, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
केही दिनदेखि यहाँका ९ जना विद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धाँमी जस्तै खेल्ने, पुरै बेहोस नहुने, मुठ्ठी बाँध्ने लगायतका कार्य गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र काफ्लेले जानकारी दिए ।
बिरामीका अभिभावक तथा नगर स्वास्थ्यकर्मीको टोलीले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले मंगलबारबाट एक साताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यपक काफ्लेको भनाइ छ । केही अभिभावकले धामी–झाँक्री कहाँ देखाउने भन्नुभएको छ भने केहीले स्वास्थ्य संस्थामा लैजाने भन्नु भएको छ’ काफ्लेले भने ।
काफ्लेका अनुसार गत जेठ २ गते कक्षा २ मा पढ्ने ६ वर्षीया सकुन्तला तामाङ एकाएक मुर्छा पर्ने, रुने कराउन थालेपछि अभिभावकलाई सम्पर्क गर्न खोज्यौ तर नेटवर्कको कारण सम्पर्क हुन नसकेपछि मोटर साइकलमार्फत अभिभावककै घरमा लगेर जिम्मा लगाइएकाे थियाे ।
साता दिन नपुग्दै कक्षा ५ मा पढ्ने १० वर्षीया विद्यार्थी टिकाकुमारी तामाङ पनि उस्तै रोगले च्यापेपछि उनलाई टेम्पोमार्फत अभिभावकको जिम्मा लगाएको प्रअ काफ्लेले बताए । त्यसको तीन दिनपछि अर्थात १५ गते बुधवार एकैपल्ट तीनजना विद्यार्थी बिरामी परे । उनीहरुको लक्ष्यण पनि पहिलेकै जस्तो देखियो । मुर्छा पर्नेमा कक्षा ५ मा अध्ययनरत् समिर राउत, कक्षा ४ मा अध्ययनरत् टेकबहादुर बिक र कक्षा १ मा अध्ययनरत् शर्मिला तामाङ मुर्छा पर्ने, ब्युझिएपछि उफ्रिने, रुने कराउने लगायतको लक्ष्यण देखा पर्यो ।
१७ गते शुक्रवार एकाएक चारजना विद्यार्थी मुर्छा पर्ने, रुने कराउने थाले । रुने कराउनेमा कक्षा ३ मा अध्ययनरत् रितु तामाङ, कौशिला खत्री, वर्षा तामाङ र सारिका तामाङ रहेका छन् ।
प्रअका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुने कराउने जस्ता लक्ष्यण देखिने गरेको छ ।
त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मलकुमार चौधरीका अनुसार यस विद्यालयमा देखिएको समस्यालाई नगरपालिकामा जानकारी गराएको छ। उनका अनुसार नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले सेवा दिईरहेकाले कही कतै निको नहुने, अरुमा रोग सरेमा विशेषज्ञ सहितको टोली परिचालन गर्नुपर्ने बताए ।
गत शुक्रबारसम्म मुर्छामा परेका ९ जना विद्यार्थीको नगर स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले उपचार गरेको थियो । ‘विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ’ उपचारमा संलग्न जिल्ला अस्पताल उदयपुरका डा. अशोक तिवारीले जानकारी दिए । उनका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन ।
‘एकजनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ’, डा. तिवारीले भने । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डा. तिवारीले भने, ‘धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई डिस अर्डर ‘मास हिस्टेरिया’ को क्याटागोरी भित्रकै रोगमा राखिन्छ ।
विद्यालयमा बढी होमवर्क र घरमा अभिभावकले पढ्न दबाब दिँदा विद्यार्थीमा मानसिक तनाव हुने गरेकाले यस्तो रोग देखा पर्ने गरेको छ ।
विद्यालयमा ७३ जना बालबालिका अध्ययनरत् छन् । उनीहरुको उमेर बढीमा ११ वर्ष भन्दा माथि नभएको विद्यालयको स्रोतको भनाइ छ ।