काठमाडौं । नेपाली भूमिमा विश्वप्रतिष्ठाका विभिन्न बिन्दु छन् । सर्वोच्च शिखर सगरमाथादेखि हिमतालसम्म । मनाङको खाङसारमा अवस्थत तिलिचो विश्वकै अग्लो स्थानमा रहेको ताल । विश्वका विभिन्न मुलुकका नागरिक आउँछन् यसलाई अवलोकन गर्न । तिलिचो पुग्दा जो कोहीको मन पुलंकित हुन्छ । तिलिचोको सौन्दर्यले भरपुर आनन्द दिन्छ पर्यटकलाई ।
आर्थिक उन्नतिले विश्वमा सम्पन्न राष्ट्र बनेका मुलुकले राष्ट्रिय प्रतिष्ठा र चर्चाका लागि अग्ला धरहरा बनाउँछन् । भवन बनाउँछन्, पुल बनाउँछन् भौतिक संरचनाका धुरी ठडयाउँछन् । तर हाम्रो देश नेपालमा आफै बनेका विश्वप्रसिद्ध प्राकृत सम्पदा छन् । मात्र यिनीहरुको जानकारी लिई लाभ लिनुछ ।
अन्नपूर्णा हिमशृंखलाको काखमा रहेको तिलिचो ताल समुद्री सतहबाट ४ हजार ९१९ मिटरको उचाइमा छ । तालको लम्बाई ४ किलोमिटर, चौडाइ १ दशमलव २ किलोमिटर र गहिराई २ सय मिटर रहेको छ । ताल वरिपरि खाङसार तिलिचो,नीलगिरि,मुक्तिनाथलगायतका हिमचुचुराहरु रहेका छन् । पर्वतहरुले घेरिएको खोंचमा तिलिचो तालको अवस्थिति छ । वर्षायामा तिलिचो तालमा निर्मल जल देखिन्छ भने हिउँदमा हिउँ जमेर हिमालयको खेलमैदान बनेको हुन्छ । तिलिचो ताल एकताका विश्वकै अग्लो स्थानमा रहेको भनेर चर्चा गरिएको पेरु र बोलिभियाबीचको टिटिकाका तालभन्दा १हजार १०७ मिटर अग्लो स्थानमा छ ।
अत्यधिक चिसोका कारण यस तालमा कुनै वनस्पति र प्राणी नरहेको अध्ययनले प्रमाणित गरेको छ । अन्नपूर्णक्षेत्रको चक्रीय पदमार्ग विश्वमै लोकप्रिय र अद्वितीय मानिन्छ । अन्नपूर्णक्षेत्रको पदयात्रामा जानेका लागि तिलिचो ताल एक आकर्षक गन्तव्य हो । तिलिचो पुगेका पर्यटकहरु थोराङ पास भएर मुस्ताङको मुक्तिनाथ निस्कने गर्दछन् ।
हिउँदका बेला तालको पानी जमेर शिशाको पुल जस्तै बन्छ । यसको हिमराशि अवलोकन पर्यटक लालायित हुन्छन् । कतिले त तालमाथि साइकल चलाउन र स्किङ गर्न रुचाउँछन् । तिलिचोमा यस्ता खेलमा रमाउन पर्यटकले विदेशमा नै योजना बनाएर साइकलसहित आउने गरेका छन् ।
साँंस्कृतिक महत्व
अन्नपूर्णा पर्वतीयक्षेत्र साँस्कृतिक तथा धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । हिमालयकी पुत्री गंगा र पार्वती मध्ये पार्वतीलाई अन्नपूर्णा पनि भनिन्छ । माता अन्नपूर्णाकै नामबाट अन्नपूर्णा पर्वतको नामकरण भएको हो । तिलिचो ताल नजिकै गंगापूर्णा पर्वत पनि रहेको छ । गंगापूर्णाको जल बगेको हुनाले यसक्षेत्रका नदीलाई गण्डकी र गण्डकीक्षेत्र भनिएको पाइन्छ । तिलिचोबाट बग्ने मस्र्याङ्दी सप्त गण्डकीमध्ये एक हो ।
धार्मिक मान्यता अनुसार तिलिचो तालको आधार शिविरमा माछामासु लान समेत बन्देज गरिएको छ । केही वर्ष अघि एक जना कामदारले मासु लिएर तिलिचो जाँदा अकस्मात भीषण हिमपात भई ठूलो क्षति भएपछि स्थानीयले यहाँ माछमासु लान रोक लगाएका हुन् । साथै तिलिचो क्षेत्रमा बसेर माछामासु सेवन गरेमा अनावृष्टि भई अन्नउत्पादनमा असर पर्ने विश्वास छ ।
ऐतिहासिक पक्ष
स्थानीय भाषामा कागलाई तिली भनिन्छ । च्छो भनेको ताल हो । वा उच्चस्थानको ताल । यिनै शब्दको संयोजनाबाट तिलिचो नामकरण भएको हो । यो शब्द आज नेपाल र नेपालीको शिर उँचो बनाउने र सम्पदा बनेको छ । यसप्रति हरेक नेपालीले गौरव गर्दछन् । हरेक नेपालीले सगौरव भन्छन् हाम्रो देशमा संसारप्रख्यात तिलिचो ताल छ ।
कसरी जाने तिलिचो ?
काठमाडौबाट करिब ५ सय किलोमिटर पश्चिोत्तरमा छ तिलिचो ताल । काठमाडौबाट लमजुङको बेसीशहर मनाङको सदरमुकाम चामे हुम्दे टंकीमनाङ, खाङसार भएर पुगिन्छ । हाल टंकीमनाङसम्म सडकयातायातको सुविधा पुगेको छ । तिलिचो जानेहरु त्यसपछि भने पैदल हिड्नुपर्छ । टंकी मनाङबाट खाङसारमा केही घण्टा विश्राम गरी मनोरम दृश्य अवलाकन गर्दै श्रीखर्क पुगिन्छ । श्रीखर्कमा बस्नका लागि स्तरीय होटल तथा लजहरु छन् । अर्को दिन सुस्तरी हिंडेर आधारशिविर पुगिन्छ ।
पोखरबाट हवाई यात्रा गरी हुम्दे हुँदै तिलिचो पुग्न सकिन्छ । उता मुक्तिनाथबाट पनि तिलिचो आउने गरिन्छ । तिलिचो पुग्न आधारशिविरबाट बिहान झिसमिसेमै हिड्नुपर्छ । बिहानै तिलिचो तालको दर्शन स्नान र अवलोकन गरी यात्री मध्यान्हमा आधार शिविर फर्कन्छन् । तिलिचो क्षेत्रमा मध्यान्हपछि बेसरी हावा चल्ने भएकाले आधारशिविरबाट एकाबिहानै हिड्नु परेको हो ।
प्रवर्द्धन प्रयास र दायित्व
हिमाल वनखण्ड खेतीपाती नदी वस्ती हेर्दै यात्रा गर्न सकिने मनाङको विशेषता हो । तिलिचो जाने मार्ग कतै मनमोहक छ त कतै खतरनाक पनि । यात्रीको सुविधाका लागि बाटो सजिलो र सुरक्षित बनाउने प्रयास भइरहेको छ ।
गण्डकी प्रदेश सरकार सांसद,मनाङका विकास संस्था, प्रकृति संरक्षण कोष तथा अन्नपूर्णा संरक्षण क्षेत्रले तिलिचो ताल र यस वरपरको वातावरण संरक्षणका लागि सकृय छन् । तिलिचो नेपाली मनको हीरा हो भने विश्व पर्यटकमा आँखाको नानी । बढ्दो विश्वतापमानले यसलाई पगाल्ला,मानिसको अनियन्त्रित गतिविधिले यसलाई प्रदूषित बनाउला,हिमताल पग्लिएर तलतिर खतरा होला यस्ता विषयमा सम्बन्धित निकायहरु यसको प्रचारसँगै सचेत हुनुछ । यहाँ नजिकै होटल बन्ला कमाइ पनि होला तर ताल कतिसम्म यस्तै चाखो रहला रु प्रश्न पनि छ । होटल रेस्टोराँ त अलि तल बनाए पनि भो । बनाउनै नसकिने ताल किन बिगार्ने रु हिमालय पर्वतका चुचुरा फोहर पारेर आज सरकार सफाईको घोषणा गर्दैछ तर तिलिचोमा यो दशा नआओस् ।
विचार पु¥याएर विकासको पाइला चाल्नु छ । प्राकृतिक सम्पदाको सदुयोग र दोहन गर्दा त्यसको दिगोपनलाई प्राथमिकता दिनुछ । विकास भनेको एकोहोरो भौतिक निर्माण मात्र होइन, कोमल प्रकृतिको भाषा बुझेर त्यसलाई जोगाउने र यथावत राख्ने कार्य पनि हो । आर्थिक आर्जनको नाममा आमा जस्तै लाग्ने हिम आभायुक्त प्रकृतिलाई प्रहार गरियो भने भोलि त्यो प्रगति हुने छैन । तिलिचो तालको यो पवित्रता बचाएर जस्ताको तस्तै सन्ततिलाई सुम्पिनु देशवासीको दायित्व हो ।