हुमाकान्त पोखरेल
गुल्मी । इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगारी दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा एक महिनाका लागि रोजगार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टका अनुसार वडा नम्बर १ र २ का १०/१० जना, वडा नम्बर ३ बाट ३३ जना, वडा नम्बर ४ बाट ४३ जना, वडा नम्बर ५ र ६ बाट २०/२० गरी ३८ महिला र ९३ पुरुषलाई रोजगारी प्रदान गरिएको हो ।
नेपाल सरकारले तोके अनुसार दैनिक पाँच सय १७ रुपैयाँ पारिश्रमिक दिएर रोजगार प्राप्त सबैजनालाई सडकको काममा लगाइने गाउँपालिकाले जनाएको छ । वडा कार्यालयमार्फत संकलन गरिएको बेरोजगारीको तत्थ्यांक अनुसार एक हजार सात सय बेरोजगारले फाराम भरेका थिए । जसमध्ये कृषि कार्यमा सम्लग्न, वैदेशिक रोजगारबाट फर्किएका, अति कम आम्दानी भएकाको आधारमा रोजगारीका लागि छनोट गरिएको रोजगार संयोजक गणेश कुँवरको भनाइ छ ।
श्रमिकको मजदुरी बैंक खातामा
छनोट भएका श्रमिकहरुले पारिश्रमिक प्राप्तीका लागि बैंकमा खाता खोल्नु पर्ने र गाउँपालिकाले उनीहरुको खातामा रकम जम्मा गरिदिने गाउँपालिकाले जानकारी दिएको छ । यो कार्यक्रम अनुसार श्रमिकले महिनामा तीस दिन काम गर्नु पर्ने र यसो नगरे जति दिन काम गरेको छ त्यति दिनको मात्र रकम पाइने जनाइएको छ ।
१० देखि १५ जनाको समूह बनाइ काममा खटाइने प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको भनाइ छ । श्रमिकहरु सडक निर्माण तथा मर्मत, कृषि, सिंचाईं, खानेपानी योजना, स्वास्थ्य लगायत गाउँपालिकाले खटाएका विभिन्न नौ क्षेत्रमा जानु पर्ने बस्नेतले जानकारी दिए ।
नेपालको संविधानको धारा–३३ मा रोजगारीको हक उल्लेख गरिएको छ । जसमा रोजगारीका शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने, प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हक हुने उल्लेख गरिएको छ ।
दश वर्ष वैदेशिक रोजगारमा गएका ५१ वर्षीय टिकाबहादुर पुन घर आएका बेला बेरोजगार फाराम भरे र वडाको छनोटमा पर्न सफल भए । आफ्नै ठाउँमा रोजगारी पाएपछि उनले पुनः विदेश फर्कने योजना स्थगित गरेका छन् ।
‘एक महिना भए पनि काम पाउँदा खुसी लागेको छ’, वडा नम्बर–४ का टेकबहादुर नेपालीको भन्छन्, ‘स्थानीय स्तरमा दीर्घकालिन रोजगारका लागि सरकारले पहल गर्नु आवश्यक छ ।’
समान ज्यालाले महिला खुसी
कार्यक्षेत्रमा महिलाको भन्दा पुरुषको पारिश्रमिक आधाले फरक पर्ने गरेकोमा प्रधानमन्त्री रोजगार कार्यक्रममा महिला/पुरुषलाई समान पारिश्रमिक दिने भएपछि महिलाहरु खुसी भएका छन् । ‘काम एउटै तर पारिश्रमिक आधाको फरक हुन्थ्यो’, वडा नम्बर–६ की संगीता गौतमले भनिन्, ‘यो कार्यक्रममा समान पारिश्रमिक रहेछ, खुसी लाग्यो ।’ समान ज्यालाले गर्दा महिलालाई काम गर्न हौसला बढ्ने उनको भनाइ छ ।