विनु तिम्सिना
मोरङ । कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै प्रदेश नम्बर १ सरकारले बिहीवार नीति तथा कार्यक्रम ल्याउदैछ ।
नीति तथा कार्यक्रम प्रदेश प्रुमख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सभामा पेश गर्नुहुने कार्यक्रम छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा गठन भएको प्रदेश सरकारले ल्याउने दोस्रो नीति तथा कार्यक्रममा अधिकांश बुँदामा अघिल्लो वर्षकै कार्यक्रमहरू दोहोरिएका छन् । प्रदेश आफैंले भू–उपयोग नीति बनाउने, ठूलो क्षेत्रफलको जग्गा खोजेर सहकारी वा समुदायलाई सामूहिक खेती प्रणालीमा संलग्न गराउने योजना प्रदेश सरकारको छ ।
यसबाहेक, मुलुककै सबैभन्दा होचो भूभाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने पूर्व कार्यक्रमलाई पनि यसपटक निरन्तरता दिइएको छ । भौतिक पूर्वाधार विकासतर्फको यो योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।
यसपटकको नीति तथा कार्यक्रममा प्रदेश सरकारले यात्राको दूरी छोट्याउने गरी धरान–मूलघाटलगायतका क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने घोषणा पनि गर्दै छ । त्यस्तै राजधानीको संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ ।
संसद्ले पारित गरेको राजधानीबारे प्रस्तावमा विराटनगर राजधानी हुने र इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपासमा कार्यपालिका र व्यवस्थापिकाका संरचना रहने उल्लेख छ । सोहीअनुसार संरचना निर्माणको योजना आउने स्रोतको भनाइ छ ।
हाल सञ्चालनमा रहेका बाहेक नयाँ औद्योगिक ग्रामहरू ग्रामीण क्षेत्रमा बनाउने, प्रदेशको सुरक्षा ऐन, प्रहरी ऐन ल्याउने, लोकसेवा आयोग, सञ्चारसम्बन्धी प्रतिष्ठान, प्रदेश खेलकुद बोर्ड स्थापना, सीमा सुरक्षाका लागि संघीय सरकारसँग सहकार्य गर्ने, सडक सुशासन कार्यक्रम लागू गर्नेलगायतका योजना पनि नीति तथा कार्यक्रममा छन् ।
प्रदेश नम्बर १ का प्रत्येक जिल्लामा कम्तीमा एउटा प्राविधिक शिक्षालय खोल्ने, उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउने योजनामा पनि सरकारले जोड दिएको छ ।