बलवीर भुजेलसिन्धुली । कमलामाई नगरपालिका–४, ढकाल गाउँका विश्वम्भर लामिछाने एक कुशल राजनीतिज्ञ, रेड क्रसकर्मी हुँदै हाल अधिवक्ता कार्यमा समेत क्रियाशिल हुनुहुन्छ ।उमेरले साठी पुग्नै लागेका लामिछानेले धेरैका मुद्दामामिलामा साथ दिइसक्नु भएको छ ।वर्तमान अवस्थामा भने ‘जरबुट्टा कला’ ले उहाँको परिचयलाई अझ बढाइदिएको छ । उहाँको घरको सुन्दरता र आकर्षण हेर्दा सजावटका लागि राखिएकाे जस्तो लाग्न सक्छ तर जरबुट्टाको कलाले घरलाई दुलही जस्तै सिगारिएको प्रतित हुन्छ ।
घर वरपरका जमीनमा पनि जरबुट्टा कलाले सिगारिएको देखिन्छ । विसं. २०४८ देखि कलामा क्रियाशिल रहनुभएका लामिछानेको पहिलो कलाकाे शुभारम्भ भने जरायोको सिङ र घाँटीसम्मको आकारको जरालाई सफा गरेर कलाको आकार दिएर शुरु भएको थियो । त्यतिबेला रुखका कुहिएका जराहरु ओसार्दा देख्नेहरु अचम्ममा परेको र यसबाट आफ्नो परिचय बदल्ला भन्ने नसोचेको उहाँ बताउनुहुन्छ ।
यस्ता अमूल्य कलाको संरक्षणमा सरकारले ध्यान दिए कलाकारको सम्मानका साथै सबैले कला बुझ्ने स्थानीय नारायण लामिछाने बताउनुहुन्छ ।‘चर्चामा आउन उद्देश्यले यो काम गरेको होइन, मन परेर घरमा राखेँ, बिस्तारै संग्रहालयमा परिणत भयो’, लामिछानेले भन्नुभयो, ‘करोडौ मूल्यमा कला बेच्न आग्रह गर्ने आएका भएपनि कला बेच्दा आफ्नै मृत्युसमान हुने भएकाले जनता र देशका लागि समर्पित गर्न चाहन्छु ।’कला र कलाकारको संरक्षण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने किसिमले संग्रहालय निर्माण गर्ने योजना भएको मेयर खड्कबहादुर खत्री बताउनुहुन्छ ।
लामिछानेको संग्रहालयमा भानुभक्त, पृथ्वीनारायण शाह, भृकुटी लगायतका व्यक्तिहरूका आकृती रहेका छन् ।नेपालका सबै जिल्लाका साथै अमेरिका, बेलायत, जर्मन लगायत ४० देशका २५ लाख भन्दा बढी अवलोकनकर्ताले संग्रहालयकाे अवलोकन गरिसकेको लामिछाने बताउनुहुन्छ ।