विष्णु कुमार शाहीसुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेको मध्यपश्चिम विश्वविद्यालयको नवौं स्थापना दिवस मनाउने क्रममा तनाव भएको छ । एक निजी कलेजले टिसर्ट सौजन्य प्रदान गरेपछि विश्वविद्यालयका विद्यार्थी संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका छन् ।
विद्यार्थीहरुले टिसर्ट र वार्षिकोत्सव निमन्त्रणा लेखिएको व्यानरसमेत जलाएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । काठमाडौंको कलेजले सरकारी विश्वविद्यालयको वार्षिक उत्सवको अवसरमा गरिने विभिन्न क्रियाकलापहरुमा टिसर्ट प्रायोजन गरेको प्रति विद्यार्थी संगठनहरुले कडा आपत्ति जनाएका हुन् ।
नीजि कलेजको विज्ञापन हुने गरी विश्वविद्यालयलाइ टि–सर्ट सौजन्य दिएको मान्य नहुने विद्यार्थीको भनाइ छ । संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा विश्वविद्यालयमा आन्दोलन गरिएको हो । विद्यार्थी संगठनको तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका स्ववियु सभापति झक्कबहादुर शाहीले विश्वविद्यालय आफ्नो उद्देश्य अनुरुप सञ्चालन नभएकोले आफूहरुले आन्दोलन गर्नु परेको बताउनुभयो । आन्दोलनका क्रममा प्रहरी जवान सुरेन्द्र महत घाइते भएका छन् भने, केही विद्यार्थीहरु पनि घाइते भएका छन् । आन्दोलनका क्रममा विद्यार्थी संगठनका केही नेताहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्रबहादुर शाही, अखिल क्रान्तिकारी केन्द्रीय सचिव अमर जङ शाही, अनेरास्ववियु केन्द्रीय अनुशासन आयोग सदस्य नवीन योगी, नेविसंघ नेता राजन कक, न्युटन ओली, अनेरास्ववियु नेता महेन्द्र थापा, सरोज न्यौपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल र ममता अधिकारीलाई भरत गौतम लगाएत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।