खोटाङबाट फर्केपछि सइन्द्र राईपूर्वी नेपालकै पुरानोमध्ये एक लामिडाडाँ विमानस्थल स्तरोन्नति भएको छ । २०२८ सालबाटै सञ्चालनमा आएको खोटाङको लामिडाँडा विमानस्थलको स्तरोन्नतिसँगै प्रदेश नम्बर एकको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
हिन्दूले पूर्वको पशुपतिनाथ, बौद्धले पद्यसम्भवको तपोभूमि र किराँतले आफ्नो आदिमथलो मान्ने त्रिधार्मिकस्थल होः हलेसी महादेवस्थान । र, हलेसीबाट सबैभन्दा नजिकको विमानस्थल हो, लामिडाँडा ।
विडम्बना, २०२८ बाट सञ्चालित विमानस्थल लामो समयसम्म कच्ची नै थियो । हलेसी आउने धार्मिक पर्यटकबाहेक सोलुखम्बुका विमानस्थल र ओखलढुङ्गास्थित रुम्जाटार विमानस्थलको पनि वैकल्पिक विमानस्थल हो, लामिडाँडा । तर, ढिलै भए पनि लामिडाँडा विमानस्थल स्तरोन्नति गरिएको विमानस्थल आयोजना प्रमुख बिनायक भट्टराईले बताउनु भयो ।
६ करोड ३४ लाख रुपैयाँ लागतमा स्तरोन्नति गरिएपछि डेढ वर्षदेखि रोकिएको विमानस्थलबाट मंगलबार परीक्षण उडान भरियो । वर्षौँदेखि कच्ची विमानस्थलबाट विमान उडेको हेरेका स्थानीय गजब देखिएको पक्की विमानस्थलबाट विमान उडेको हेर्दै खुशी भए । पक्की रनवे उद्घाटन समारोहमा सहभागी जनप्रतिनिधिको उत्साहमा पनि कुनै कमी थिएन । बरू, योजना थियो ।
सांसद विशाल भट्टराईले भन्नुभयो, ‘दुर्गममा विमानस्थल सञ्चालनमा आएसँगै उडान भर्नु नै छ, तर विमान सेवाका नाममा दुर्गम भन्दै डलर धेरै आउने स्थलमा मात्र उडान भर्ने प्रवित्ति पनि अन्त्य हुनुपर्छ ।’
विमानस्थल सञ्चालनको प्रशस्त सम्भावना सुनाउँदै सांसद भट्टराईले नेपाली उड्डयन क्षेत्रमा ब्याप्त बेथिति अन्त्य जरुरी भएको बताउनु भयो ।
पक्की रनवे बनेसँगै, बाह्रैमास विमानस्थल सञ्चालनमा आपत्कालीन उद्धार, नियमित आवातजावत सहजता अनि धार्मिक र छिमेकी जिल्ला सोलुखुम्बुको हिमालय पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ । लामिडाँडा विमानस्थलको नियमित उडानले प्रदेश नम्बर एकको आर्थिक विकास बल पुर्याउने योजना बुनिएको छ ।
तस्बिरहरुः राधिका श्रेष्ठ, जनता समाचार डटकम