भगीरथ भण्डारीइलाम । यही वर्ष इलामको सन्दकपुर गाँउपालिकाको जमुनास्थित चोयाटारमा एउटा मृत अवस्थामा फेला परेको थियो । मृत रेडपाण्डाको पुच्छर र शरीरको केही भागमात्र बाँकी रहेको अवस्थामा फेला प¥यो । सन्दकपुर गाउँपालिका १ स्थित माईपोखरी भन्दा केही तल तीनकुनेमा यसै वर्ष दुईवटा कुकुरले सिकार गरिरहेको अवस्थामा स्थानीय यान्ङ्ग्जीन गुरुङले कुकुरदेखि खोसेका थिए । इलाम नगरपालिका वडा नम्बर एक पुवा मझुवामा केही महिना अघि रेडपाण्डा कुकुरको शिकार बन्यो । यसरी दिन प्रतिदिन रेडपाण्डा मृतअवस्थामा भेटिनुले रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो ।
दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत भएको रेडपाण्डा (हाब्रे) संरक्षण गर्न लाखौं खर्च गरेपनि दिन प्रतिदिन संकटमा पर्नथालेको छ । कुकुरको आक्रमण र जंगली जनावरको शिकार बन्नुका साथै रेडपाण्डाको आहारा मानिसले तरकारी खान बिक्री गर्न थालेपछि रेडपाण्डा लोप हुने अवस्थामा पुगेको हो ।
रेडपाण्डा संरक्षण गर्न सन २००७ देखि काम गर्दै आएको रेडपाण्डा नेटवर्कले काम गरिरहेपनि रेडपाण्डा संरक्षणमा काम गरिरहेको छ । २०१९ मा रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गर्न ६७ लाख १८ हजार रुपैयाँको कार्यक्रम तय गरियो । सन २०१८ भने ६९ लाख ३० हजार आठ सय रुपैयाँ इलाम जिल्लामा मात्रै खर्च भएको थियो । वर्षेनि रेडपाण्डा संरक्षणका लागि खर्च गरिरहँदा पनि रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो । मंगलबार इलाम सदरमुकाममा भएको अपराध नियन्त्रण सम्बन्धी कार्यक्रममा सरोकारवालाले रेडपाण्डा संरक्षण हुन नसकेको बताए ।
इलामको सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगेथाम, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वनलगायतमा पाइने मालिंगो र भालुचिण्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा विक्री गर्न थालेपछि रेडपाण्डा झन् संकटमा पर्न थालेको छ । लजालु स्वभावको भएकोले जंगली जनावर र कुकुरले सजिलै आक्रमण गर्ने भएको हुदाँपनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन ।
![](https://45.77.241.73/wp-content/uploads/2019/06/r-p.jpg)
रेडपाण्डाकोे तथ्याङ्क छैन रेडपाण्डा नेटवर्क संगरेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नामक संस्थाले विगतका वर्षदेखि काम गरिरहेपनि अहिले सम्म कतिको संख्यामा रेडपाण्डा छन् भन्ने एकिन तथ्याङक छैन । संरक्षण गर्न नेटवर्क मार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखे पनि प्रभावकारी बन्न नसक्दा रेडपाण्डाको तथ्याङक नेटवर्कले काम गर्न नसकेको हो । अहिले पनि तीन जिल्लाका क्यामेरा राखेको भएपनि रेडपाण्डा कति छन् भन्ने थाहा नभएको रेडपाण्डा नेटवर्क इलामका कृष्ण राई बताउनुहुन्छ ।
इलाम सहित पाँचथर र ताप्लेजुङ्गमा समेत रेडपाण्डा संरक्षणको कार्यक्रम भइरहेको छ । स्थानीय भाषामा हाब्रेको नामले चिनिने कालो, रातो र सेतो रङ मिसिएको हुन्छ भने पुच्छर ठूलो र लामो गरेको बिरालो जस्तै हुन्छ । पोथी रेडपाण्डाको तौल ३ देखि साढे ४ किलोसम्म हुन्छ भने भाले रेडपाण्डाको तौल ६ किलोसम्मको हुन्छ । समुन्द्री सतहको १६ सय मिटरदेखि २४ सय मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ ।