शम्भु दाहालझापा । स–साना बालबालिकालाई उच्च नैतिकता सहितको शिक्षा दिनु विद्यालयको कर्तव्य हो । त्यहाँ अध्यापन गराउने शिक्षक–शिक्षिका उनीहरुका बाबु–आमा पछिका अभिभावक हुन् । शिक्षक–विद्यार्थीको मेहनतले विद्यार्थीको भविष्यको मार्गचित्र तयार हुने गर्दछ । यसरी आम सर्वसाधारणको विश्वासमा रहेको विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकहरु नै कहिले भष्टचारमा मुछिएर त कहिले नक्कली परिक्षार्थी खडा गरेर विवादमा तानिनु सर्वसाधारणलाई विश्वासघात गर्नु हो । प्रसङ्ग हो झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित लक्ष्मी माध्यमिक विद्यालयको ।
अर्जुनधारा नगरपालिका वडा नम्बर–६ स्थित लक्ष्मी माध्यमिक विद्यालका प्रध्यानध्यापक विरेन्द्रप्रसाद गुप्ताको संरक्षणमा विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम डाँगीले आफ्नो नाममा अर्कै परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको तत्कालीन परीक्षा निरीक्षक हुमा खतिवडाले बताउनुभयो । उहाँलेभ भन्नुभयो, ‘डाँगी सरले परीक्षा लेखेको मैले देखिन, उहाँ सहायक परिक्षा केन्द्राध्यक्ष हुनुन्थ्यो ।’ त्यस्तै डाँगीले लागुऔषध मुद्धामा पक्राउ परेका भारतीय नागरिकलाई आफ्नो विद्यार्थी भन्दै किर्ते कागजात तयार गरी अदालतबाट छुटाएको स्थानीय हरिशचन्द्र बास्तोलाले बताउनुभयो ।
एसलसी पास र १० महिने तालिम लिएका डाँगीले गएको २०७५ मा शनिश्चरे उच्च माविबाट कक्षा ११ को परीक्षा दिएको र परीक्षार्थीमध्येबाट उत्कृष्ट अंक प्राप्त गरेको रिजल्ट सार्वजनिक भएसँगै परीक्षार्थी र शिक्षक छक्क परेका थिए ।
स्थानीय शनिश्चरे माविमा फारम भरी आफैंले पढाउँदै आएको लक्ष्मी मावि केन्द्रबाट परीक्षा दिएका डाँगीले कक्षा ११ को परिक्षा नदिई सर्वोत्कृष्ट अंक प्राप्त गरेको पाइएको छ । परीक्षा नै नदिएका र ०७५ सालको उच्च मावि तहमा सहायक केन्द्राध्यक्ष बनेका डाँगीले २.९८ जीपीए ल्याएको स्थानीयले बताए । आफैँ सहायक केन्द्राध्यक्ष बनेका डाँगीले परीक्षा दिएको. त्यहाँ बसेका निरीक्षहरु कसैलाई थाहा नभएको स्पस्ट पार्नुभएको छ ।
त्यस्तै अन्य परीक्षार्थीले समेत डाँगीले परिक्षा नदिएको र उनी सहायक केन्द्राध्यक्ष बसेको बताएका छन् । उनले प्रश्नपत्र आफ्नै घरमा लगेर श्रीमतीलाई परीक्षा लेख्न लगाएको श्रोतको भनाइ छ । डाँगीसँगै सिम्बोल नम्बर भएकी ओसनी राईले भन्नुभयो, ‘डाँगी सरले परिक्षा दिएको देखिन, हाम्रो सिम्बोल नम्बर सँगै हो, उहाँ त गुप्ता सरसँगै हिडिरहनु भएको हुन्थ्यो ।’
कक्षा ११ को नतिजा सार्वजनिक भएपछि उतीर्ण भएका ६७ विधार्थी मध्ये डाँगीले प्रथम स्थान हाँसिल गरेका थिए । तर, गत वर्ष कक्षा ११ को परीक्षामा उत्कृष्ट अंक ल्याएका भनिएका डाँगीले कक्षा १२ को परिक्षा भने दिएनन् । कक्षा ११ मा फर्जी विद्यार्थी प्रयोग गरी परीक्षा दिएको सार्वजनिक भएपछी कक्षा १२ को परीक्षा नदिएको विद्यालय स्रोतको दाबी छ । तर, डाँगीले फर्जी परीक्षा दिएको सार्वजनिक भएपछि परीक्षामा उनी सहायक केन्द्राध्यक्ष बसेको सबै बिवरण प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले नष्ट गरेको बास्तोलाले बताउनुभयो ।
यस्तै विद्यालयका प्रधानाध्यपक विरेन्द्र गुप्ता र सहायक प्रधानाध्यापक डाँगीले वर्षौदेखि विद्यालयमा गैरकानुनी कार्य गर्दै आएको स्थानीय अभिभावक बताउँछन् । गुप्ताको सहयोगमा डाँगीले लागु औषध मुद्धामा पक्राउ परेका भारतीय नागरिक बिवेक राई आफ्नो विद्यालयको विद्यार्थी भएको र उनको चालचलन असल भएको भन्दै जिल्ला अदालत झापामा सिफारिस लेखि छुटाएको प्रमाण फेला परेको छ । सिफारिसमा अभियुक्त राईको साविक शनिश्चरे– ७ को ठेगाना लेखिएको भएपनि राई भारतको दार्जिलिङका बासिन्दा रहेको उनको भारतीय आधारकार्डबाट पुष्टि हु्न्छ । डाँगीले विद्यालयको छाप र लेटरप्याडको प्रयोग गरी अदालत समक्ष किर्ते सिफरिस गरेको भन्दै इलाका प्रहरी कार्यालय अनारमणिमा केही दिन अघि किटानी जाहेरी समेत दिएको स्थानीय बास्तोलाले बताउनुभयो ।
तर, सहायक प्रधानध्यापक डाँगीको कुरा भने अर्कै छ । उहाँले चरित्र हत्या गर्ने उदेश्यले प्रचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कक्षा ११ को परीक्षा मैले नै लेखेको हो, १२ को चाहिँ श्रीमतीले लोकसेवा आयोगको तयारी गर्दै छिन् नानी सानु छ उस्लाई हेर्नु पर्ने भएकाले दिन पाइन अर्को साल दिन्छु ।’ सहायक प्रअ डाँगीको गैरकानुनी हर्कतका बारेमा अभिभावक, नगरपालिका र झापाका प्रमुख जिल्ला अधिकारी समेत जानकार भएपनि कारवाहीबाट जोगिँदै आएको स्थानीयको भनाइ छ । यस बिषयमा बुझ्नलाई विद्यालय पुग्दा प्रध्यानध्यापक गुप्ता भेटिनुभएन । फोनमा सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘विद्यालयको तर्फबाट विज्ञप्ती निकालेको छौं, त्यहि हेर्नु होला, म अहिले भेट्न सक्दिन ।’
प्रधानाध्यापक गुप्ताकै नेतृत्वमा २२ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने विद्यालयको भवनमा पिलर मात्रै ठ्याएर सबै रकम निकासा गराएको स्थानीय भिष्म पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘गुप्ता सरका कारण बिगत ३ वर्षबाट विद्यालय ब्यवस्थापन समितिविहीन बनेको छ ।’विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कारण विद्यालयमा चरम वेथिती भएको भन्दै सुधारका लागि विद्यार्थी नेता भिष्मराज पौडेलको नेतृत्वमा संघर्ष समिति समेत गठन भएको छ ।
शिक्षक कर्मचारीमाथि विभेद गरेको, शिक्षकको कोषको पैसा समयमा जम्मा नगरेको, आर्थिक पारदर्शिता नभएको, परीक्षामा लापरवाही गरेको, व्यवस्थापन समिति नबनाएको, कृतिम अभिभावक सिर्जना गरेर व्यवस्थापन समिति बनाउन खोजेको, विद्यालय भवन निर्माणको बजेट ल्याएर काम नथालेको, थालेको काम मापदण्ड विपरित भएको, योग्य शिक्षकलाई एसएलसी मात्र पास शिक्षकबाट अपमानित गराएको र श्रीमतीलाई बालशिक्षाको कर्मचारी विधि विपरित बनाएको आरोप प्रधानध्यापक गुप्ता माथि संघर्स समितिले लगाउँदै आएको छ ।