काठमाडौं । पछिल्लो समय आएका सामाजिक गीतहरुमा सरकारको कामप्रति असन्तुष्टि व्यक्त भएका छन् । सरकारप्रति असन्तुष्ट भएका केही गीतहरुलाई सरकार सम्बद्ध पार्टीका कार्यकर्ताहरुको दबाबका कारण हटाइएका छन् ।
यस्तै मारका परेका गायक हुन् पशुपति शर्मा । उनको गीतको विरोधमा नेकपाको तत्कालीन युवा संगठन युवा संघले करिअर नै सिध्याइदने धम्की आएको थियो । त्यसको केहीसमयपछि रमेशराज भट्टराईले एउटा भ्रष्टाचार बोलको गीत सार्वजनिक गरे । उनको गीत पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यस्तै किसिमको अर्को गति पनि अहिले पनि सार्वजनिक भएको छ । गीतको एल्बम हो ‘ए सरकार २’ र गीतको बोल ‘बर्बाद भो हाम्रो सरकार’ । देवेन्द्र कार्कीको स्वरमा रहेको गीतमा गिरिजा अधिकरीको शब्द र बिकास पाण्डेको संगीत छ । गीतमा सरकारको काम प्रति असन्तुष्टी जनाउँदै घुसखोसी र भ्रष्टाचार अन्त्य कहिले ?, रेमिट्यान्सले कहिलेसम्म मुलुक चलाउने ?, नातागोता तथा आफन्तलाई जागिर खुवाउने गरेको प्रसङ्गलाई समेटिएको छ । यस्तै सरकार निदाएर जनताको समस्यालाई वास्ता नगरेको विषयले पनि गीतमा स्थान पाएको छ ।
यहि टीमले एक वर्षअघि बेरोजगारीको प्रसङ्गलाई समेटेर ‘ए सरकार’ बोलको गीत ल्याएको थियो । त्यो समस्यालाई अहिलेसम्मको सरकारहरुले समाधान नगरिएको कारणले त्यसकै सिक्वेलको रुपमा ‘ए सरकार २’ ल्याइएको गायक तथा गीतका निर्माता देवेन्द्र कार्कीको भनाइ छ । गीतमा देशमा भएका विकृति विसङ्गतिलाई सुन्दर ढङ्गले समेटिएको छ ।
देवेन्द्रले भन्नुभयो, ‘अगाडि धेरै माया प्रेमका गीत गाइयो तर केही न केही जनताको लागि पनि गाउनुपर्छ भन्ने लागेर यस्तो गीत गाएको हुँ ।’ सामाजिक विषयवस्तुहरुलाई उजागर गरको गीत गाउन पाउँदा आफू एकदमै खुसी लागेको उहाँ बताउनुहुन्छ । उहाँ विगत १५ वर्षभन्दा लामो समयदेखि संगीत क्षेत्रमा आवद्ध हुनुहुन्छ ।
‘सरकारले राम्रो काम गरेको भए ‘ए सरकार हाई हाई’ भनिहाल्थ्यौं नी, गीतमा उठान गरिएको विषयमध्ये कुन कुरामा सरकारले चासो दिएर काम गरेको छ ?’ उहाँ प्रश्न गर्नुहुन्छ, ‘त्यसैले काम गर्नु आवश्यक छ ।’
पछिल्लो समय सरकारको विरोधमा गाइएका गीतहरु हटाउन परिरहेको बेला तपाईंको गीत पनि ब्याण्ड होला नी ? भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, ‘मलाई गीत ब्याण्ड हुनुसँग सरोकार छैन, किनकी जनताको गीत गाएकोले जनताले कुन हिसाबले लिनुहुन्छ त्यो कुरामा मात्र मलाई सरोकार छ ।’
आफूहरुको उदेश्य सरकार नराम्रो भन्ने नभइ गीतमा समेटिएका समस्यालाई हल गर्नुपर्छ भन्ने रहेको गायक कार्कीले बताउनुभयो । ‘पूर्ण रुपमा सम्भव नएपछि आधासम्म त गर्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘कुनै काम गर्दा त्यसको राम्रो निरीक्षण मात्र गरेपनि धेरै समस्या समाधान हुन्छ ।’ देशमा चरम भष्ट्राचारको स्थिति भइसकेपछि मात्र आफूहरुले गीत सिर्जना गरेको गायक कार्कीको भनाइ छ ।
गीतको सिक्वेलमा भीमफेदी गाइजमा ल्याउनुबारे प्रस्ट्याउँदै गायक कार्कीले भन्नुभयो, ‘यसअघि निकालिएको सरकार बोलको गीतमा पनि उनीहरु नै थिए, त्यसकै सिक्वेल भएका कारण पनि उनीहरुलाई नै लिएर गीत सुटिङ गरिएको हो ।’ आफूलाई उनीहरुसँग काम गर्दा एकदमै सहज हुने भएकोले पनि भीमफेदी गाइज दोहोरिएको कार्कीको तर्क छ ।
यसअघि आएको ‘ए सरकार’ बोलको गीतमा पुष्पन प्रधानको स्वर छ । सो गीतमा पनि गिरिजा अधिकारीको शब्द र विकास पाण्डेलाई संगीत छ । ‘ए सरकार’मा पनि भीमफेदी गाइजलाई नै फिचर गरिएको थियो ।
https://youtu.be/DBKT3lBy_5g