लोकेन्द्रप्रसाद जोशीदार्चुला । मौलिकताका धनी आदिवासी जनजाति व्याँसी सौका समुदायको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको छ ।आफ्नो मौलिक संस्कृति, परम्परा, भेषभुषा र भाषा भएका व्याँसीहरु अल्पसंख्यक जातिको रुपमा सूचिकृत छन् । आफुलाई (रं) अर्थात सौका समुदाय भनेर चिनाउने व्याँसी समुदायको ३ सय ६९ घरधुरीमा २ हजार १ सय ६९ जनसंख्या रहेको छ ।नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गर्ने व्याँसीहरुको व्याँस गाउँपालिका वडा नम्बर १ छांगरू र तिकंर, वडा नम्बर-२ राप्लाका साथै अपिहिमाल गाउँपालिका–६ सितोलामा बसोबास रहेको छ । समुद्री सतहबाट १२ हजार फिट उचाईमा बसोबास रहेका व्याँसको छांगरु र तिंकरका स्थानीय छ महिना व्याँस र छ महिना खलंगा (कुञ्चा) अर्थात बसाइसराइ गर्ने गर्छन् ।
मंसिर महिनामा गाउँमा हिमपात भएपछि चिसो छल्न दार्चुला सदरमुकाम खलंगा झरेका व्याँसीहरु गर्मी बढेसँगै वैशाख अन्तिम साता व्याँस उक्लीएका छन् । वर्षमा एकमात्रै खेती हुने व्याँसका स्थानीयको प्रमुख पेशा व्यापार हो । यहाँ उवा, नप्पल, तिते फापर, पल्ती र आलू खाद्यान्न बालीको रुपमा उब्जनी हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुडी यार्सागुम्बा प्रमुख आयस्रोतको रुपमा रहेको छ ।मौलीक (रं) भाषा बोल्ने व्याँसीहरुको परम्परागत पहिरन पनि अरु समुदायको भन्दा फरक छ । महिलाले लगाउने पोषाक चुङबोला र पुरुषले लगाउने पोषाक रङघा भेन्ठलोको साथै सातुबाट निर्मित पूजा सामग्री दलाङ व्याँसी समुदायको पहिचानका रुपमा स्थापित रहेको व्याँसी सौका समाज दार्चुलाका अध्यक्ष यशोदा तिकंरीले बताउनुभयो ।महिलाहरुले खुट्टामा लगाउने भवच, कम्वर तल लगाउने बाला, शरीरमा लगाउने चुङ, कम्बरमा बाध्ने पटुकीलाइ ज्युज्याङ, हातमा लगाउनेलाइ रङकल्च र टाउकोमा लगाउने टोपीलाई चुक्ती तथा छप्पी भनिन्छ । घाँटीमा लगाउने गहनालाई चन्द्रहार, जुरुसाले, कण्ठी, हातमा लगाउनेलाइ वाहा, कानमा लगाउने बिरान, लक्ष्य र शिरमा लगाउने गहनालाइ चम्पकली भनिने व्याँसका अगुवा महिला शुक्लावती बुढाथोकीले बताउनुभयो ।पुरुषले लगाउने सेतो कपडा राङ्घा कुर्ता पहिरन जस्तै हुन्छ । पुरुषले कम्मरमा बाँध्ने पट्कालाई सौका भाषामा जिउज्याङ, टाउकोमा बाँधिने पाग पगडीलाई बेन्ठलो, खुट्टामा लगाउँने जुत्तालाइ बहुला र कानमा लगाउने मुन्द्रालाइ लक्ष्यब भनिने अपिहिमाल गाउँपालिका– ६ सितोलाका भवान सिंह बुढाथोकीले बताउनुभयो । बालिकाहरुले जिउभरी लगाउने पहिरनलाई घाग्री र बालकहरुले लगाउने दाैरा सुरुवाललाइ चुइली भन्ने गरिन्छ ।
‘महिला, पुरुष र बालबालिकाहरुले लगाउने परम्परागत कपडा बनाउने मानिस भने पछिल्लो समय कम हुँदै गएका छन्’, व्याँसी सौका समाजका अध्यक्ष यशोदा तिंकरीले भन्नुभयो, ‘पहिरन बनाउन धेरै समय, मिहेनत र सीप आवश्यक पर्ने भएकोले भारतीय सौका जातीबाट किनेर लगाउने गरिएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत पहिरनका कपडा र गहना बनाउने मानिसको अभाव हुँदै गएको छ ।सौका समुदायका अधिकांश युवाहरु अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा छन् । अध्यक्ष तिंकरीले भन्नुभयो, व्याँसीहरु गाउँमा नबस्नु तथा बाह्य संस्कृतिमा रमाउदै जानु, अन्तरजातीय विवाह गर्ने क्रम बढ्दै जानु लगायत कारणले परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण गर्न चुनौती छ । चालु आर्थिक वर्षमा सीप हस्तान्तरण र पहिरनबारे जानकारी गराउने उद्देश्यले गाउँपालिकाको ४ लाख ८० हजार आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
दार्चुलाको चारगाउँमा मात्रै बसोबास रहेका सौका समुदायको भारतको धर्मा घाँटी, चौदास घाँटी, व्याँस घाँटी र रालमपात लगायतका गर्खाहरुमा १५ हजार बढीको संख्यामा बसोबास रहेको छ ।अरु जातिसँग बिरलै विवाह गर्ने सौका समुदायको महाकाली वारीपारी अर्थात नेपाल भारत विहेबारी हुने गरेको छ ।