प्रकाश न्यौपानेभैरहवा । स्वदेशी उत्पादन नहुँदा रुपन्देहीको बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात अधिक बढेको छ ।
वर्षोनि बढिरहेको आयात–निर्यातको खाडल झनै माथि उकासिँदै छ । चालु आवको ११ महिनामा बेलहिया नाकाबाट २ खर्ब ४६ अर्ब २५ करोड २९ लाख ७३ हजार ९ सय ७६ रुपैयाँको विभिन्न मालवस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ३ करोड २८ लाख ६ हजार ६४ रुपैयाँको मात्रै छ ।
निर्यातकाे तुलनामा आयात २ खर्ब ४२ अर्ब २२ करोड १६ लाखले बढी हो । अघिल्लो आवमा पनि निर्यातको तुलनामा आयात २ खर्ब १० अर्ब हाराहारीमा थियो ।
निर्यातको तुलनामा आयात अत्यधिक धेरै हुँदा वर्षेनि ब्यापार घाटा समेत बढ्दै गएको छ ।
बेलहिया नाकाबाट नेपाल भित्रिने मालवस्तुमा सबैभन्दा बढी भारतबाट आयात गरिने वस्तु छन् । अन्य मुलुकबाट आयात गरिने वस्तु न्यून छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले ९७ प्रतिशत आयात भारतबाट मात्रै हुने गरेको बताए । बाँकी ३ प्रतिशत आयात भने चीन लगायत तेस्रो मुलुकबाट हुने गरेको छ । ‘यो नाकाबाट हुने आयात भारतबाटै हो, अन्य मुलुकबाट न्यून आयात हुन्छ’, उनले भने, ‘आफ्नो उत्पादन बढाउन नसक्दा हामी भारतसँग भर परिरहेका छौं’, उनले भने ।
भन्सारका अनुसार चालु आवमा आयातबाट ७४ अर्ब १८ करोड ८९ लाख राजश्व संकलन भएको छ भने निर्यातबाट राजश्व संकलन दर एकदमै न्यून छ । ४८ लाख ७४ हजार ३७५ रुपैयाँ मात्रै निर्यातबाट राजश्व उठेको छ । जवसम्म उत्पादनमूलक वस्तुलाई प्रवर्द्धन गरी निर्यातजन्य वस्तु स्वदेशमा उत्पादन हुँदैन तवसम्म आयातको अवस्था अझै बढ्ने अर्थशास्त्री डा.शम्भुकुमार गुप्ताले बताए ।
‘अहिले हेर्ने हो भने दैनिक उपभोग्य र विलासिताका वस्तु नै बढी आयात भइरहेको पाइन्छ, कम्तिमा उपभोग्य वस्तु आयात मात्रै प्रतिस्थापन गर्न सक्यौं भने पनि व्यापार घाटा कम हुन्छ’, उनले भने, ‘यसका लागि निर्यातमुखी नीति, कृषकलाई प्रोत्साहन र सुविधा, खाद्यान्न आयातमा कडाई गरिनुपर्छ ।’ हरेक वस्तु स्वदेशी प्रयोग गर्ने र स्वदेशमै उत्पादन गर्ने प्रयास गर्नुपर्ने उनले बताए ।
बेलहिया नाकाबाट चालु आवमा मोटरसाइकल, एमएस विलेट, ग्लेज टाइल, मार्बल स्ल्याव, पत्थर कोइला, चुइगम, सिंगल क्याव पिकअप गाडी, खरानी स्याल्याव, तयारी कपडा, जर्दाखैनी, रेफ्रिजेरेटर, ग्लास सिट, पेट्रोल, विभिन्न सावुन लगायतका वस्तु आयात विगतभन्दा अधिक बढेको छ ।
खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आयात पनि उस्तै बढी छ । यहाँबाट डोजर स्काभेटर, मिनी ट्रक, जिप, कार, भ्यान, क्लिंकर, विद्युत जेनेटर, चिनी, माइक्रो बस, चकलेट, प्लास्टिक बोतल कंक्रिट मिक्स्चर मेसिन लगायतको आयात संख्यागत रुपमा विगतभन्दा केही घटे पनि मूल्य भने बढेको छ । यहाँबाट सेन्थेटीक यार्न, रेसाको कपडा, बोरा, झोला, अन्य कपडा, रद्दी कागज, अदुवा सुठो, चाउचाउ, पिना, खोटो–रेजिन, जडीबुटी र मसलाहरु लगायतका सामान निर्यात हुँदै आए पनि न्यून मात्रामा हुन्छ ।
राजश्व लक्ष्य भेट्टाउनै मुश्किलभन्सारले चालु आवमा भन्सार विभागले तोकेको राजश्व लक्ष्य नभेट्टाउने पक्कापक्की भएको छ ।
कुल लक्ष्यको ११ महिनामा जम्मा ७८.७३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । बाँकी १ महिनामा २१.२७ प्रतिशत लक्ष्य भेट्टाउन कठिन हुने भन्सारले जनाएको छ । ‘लक्ष्य पूरा नभए पनि हामीले कुल लक्ष्यको ९० प्रतिशत हाराहारीमा राजश्व संकलन गर्छौं’, सूचना अधिकृत पौडेलले भने । भन्सारले आवमा ९३ अर्ब ९५ करोड ९७ लाख लक्ष्य पाएको छ । ११ महिनामा ७४ अर्ब १८ करोड ८९ लाख संकलन गरेको छ ।
अघिल्लो आवमा ८१ अर्ब ४३ करोड ७७ लाख लक्ष्य पाएको भन्सारले ७३ अर्ब २९ करोड ४० लाख संकलन गरेको थियो । जेठ मसान्तसम्म अघिल्लो वर्ष ६३ अर्ब ४२ करोड ९५ लाख राजश्व संकलन भएको थियो । ‘अघिल्लो वर्षको तुलानामा ११ महिनामा हामीले १८.३३ प्रतिशत बढी राजश्व संकलन गरेका छौं । तथापी राजश्व लक्ष्य अधिक बढाइयो, क्लिंकर लगायत अन्य वस्तुको स्वदेशी उत्पादन बढेकाले पनि लक्ष्य पूरा गर्न कठिन देखिएको हो’, पौडेलले भने ।
भन्सार तथ्यांक अनुसार अधिकांश महिनामा राजश्व असुली दर घटेको छ । साउन महिनामा ६ अर्ब ६४ करोड ४५ लाख बराबरको राजश्व संकलन भएको थियो ।
यस्तै, भदौमा ७ अर्ब ६७ करोड, असोजमा ९ अर्ब ६८ करोड २३ लाख, कार्तिकमा ६ अर्ब ४१ करोड ५४ लाख, मंसिरमा ५ अर्ब ७६ करोड ९२ लाख राजश्व संकलन भएको छ । यस्तै, पुसमा ५ अर्ब ७९ करोड १९ लाख, माघमा ५ अर्ब ८८ करोड ७१ लाख, फागुनमा ६ अर्ब १२ करोड ९५ लाख, चैतमा ५ अर्ब ८३ करोड ७० लाख, वैशाखमा ६ अर्ब ८३ करोड ५५ लाख र जेठमा ८ अर्ब १२ करोड ९१ लख राजश्व संकलन भएको छ ।