काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीसम्बन्धी अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’ लोकार्पण भएको छ । असार १५ को अवसर पारी आइतबार राजधानीमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजना गरिएका भए पनि स्वास्थ्यका कारण पुस्तकको लोकार्पणका लागि लेखकसहितको टोली घिमिरे निवासमा लैनचौर पुगेको थियो । लेखक अनिल पौडेलद्वारा लिखित अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’ मा वाङ्मय शताब्दी पुरुष जोशीको संक्षिप्त जीवनी, भाषा, साहित्य, लोकसंस्कृति, अन्वेषणलगायत उहाँको जीवनका विविध आयाम समेटिएको छ ।
नाचघरमा भएको औपचारिक कार्यक्रममा राष्ट्रकवि घिमिरेले भिडियोमार्फत सम्बोधन गर्नुभएको थियो । घिमिरेले सकारात्मक चिन्तनका प्रतीक मानिने ‘जुरेली दर्शन’ सँग जोशीको जीवनको तुलना गर्दै रिस, राग र अहंकारमुक्त भएर सबैलाई जोशीको जस्तै सादा जीवन जीउन आग्रह गर्नुभएको थियो ।
विभिन्न क्षेत्र र सरकारी विभागमा रहेर जोशीले गर्नुभएका महत्वपूर्ण कार्यहरु पनि पुस्तकमा समावेश गरिएको छ । संस्कृतिविद् जोशीसँग लगातार तीन वर्षको संगतपछि लेखक पौडेलले यो कृति तयार पार्नुभएको हो ।
पुस्तकको प्रकाशन सांस्कृतिक संस्थानले गरेको हो । संस्थानका महाप्रबन्धक राजेश थापाले संस्कृतिविद् जोशीबाटै संस्थानको जग बसालिएको भन्दै संस्थानमा मेघा हलको नाम ‘वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्ममोहन जोशी प्रेक्षालय’ नामकरण गरिएको बताउनुभयो ।
आइतबारै सत्ममोहन जोशी प्रेक्षालयको अनावरण जोशीकै हातबाट गराइएको थियो । संस्कृतिविद् सत्ममोहन जोशीले २०१६ सालमा ६ रोपनी जग्गा १ लाख ३७ हजार रुपैयाँमा खरिद गरी टहरो बनाई संस्थान सुरु गर्नुभएको थियो । कार्यक्रममा समालोचक अभि सुवेदी, सुदन पौडेल, विन्दु शर्मा, वासुदेव अधिकारी लगायतले पुस्तकको समीक्षा गर्नुभएको थियो ।