झापा । बिर्तामोडमा एक महिना अघिबाट सञ्चालित मिनी मेलामा दैनिक खुलेआम ढाइस खेलाउने गरे पनि प्रहरी रमिते बनेको छ ।
शान्ति समूह नेपाल सुधार केन्द्रको आयोजनामा ‘बिर्तामोड रमाइलो रिमझिम मेला’ ५ जेठदेखि सुरु भएको हो । पश्चिम स्टेण्डमा सञ्चालित मिनी मेलामा खुलेआम जुवाजन्य खेल चलिरहेका छन् । स्थानीय प्रशासनको अनुमति र प्रहरीकै संरक्षणमा चलेको मेलामा ढाइस लगायतका जुवाजन्य खेल निर्वाध खेलाइने गरेको स्थानीयले बताए ।
जिल्ला प्रशासन कार्यालय झापाले पछिल्लो पटक १५ दिनका लागि मेलाको म्याद थपेको हो । राति ८ बजेदेखि सुरु हुने मेला दुई घण्टा सञ्चालन हुन्छ । मेलामा प्रहरीले सुरक्षा दिन्छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका घुमुवा प्रहरी राम भुजेलले मेलाबाट दैनिक पैसा असुल्ने गरेको स्थानीयले बताए । भुजेलकै संरक्षणमा मिनी मेलामा ढाइस खेलाइने गरेको स्रोतको दाबी छ ।
भुजेलकै संरक्षणमा बिर्र्तामोडका होटलमा यौनजन्य गतिविधी हुने गरेको समाचार पटक–पटक आए पनि राजनीतिक तथा व्यापारिक संरक्षका कारण कारण् बच्ने गरेका छन् । स्थानीय प्रशासनले अनुमति दिएका कारण बिर्तामोड प्रहरीले जुवाजन्य गतिविधि चलिरहँदा पनि खासै चासो दिएको छैन । बरु उल्टै उसले राति अबेरसम्म मेलामा सुरक्षा दिँदै आएको छ । केही निश्चित सर्तसहित मेला सञ्चालनको अनुमति दिइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।
‘स्थानीय सरकारबाट सिफारिस लिएर आएपछि मैले केही सर्तसहित निश्चित समयका लागि अनुमति दिएको दाहालले बताए । मेला सञ्चालनको अनुमति थप्न केही स्थानबाट दबाब आएको उनको आशय थियो । मेलाको म्याद थप्न राजनीतिक दलका नेताले प्रशासनलाई दबाब दिएको स्रोत बताउँछ । मेलामा जुवाजन्य खेल खेल्न, मादक पदार्थ सेवन गर्न र होहल्ला गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दाहाल बताउनुभयो । तर, यी तीनवटै सर्त बिर्तामोडको मेलामा पालना भएको छैन ।
‘सर्त पालना हुनुपर्छ, पालना भएको छैन भने प्रहरीले बन्द गर्नुपर्छ,’ प्रजिअ दाहालले भन्नुभयो, ‘जुवाजन्य खेल त खेलाउनै पाइँदैन, म प्रहरीलाई भन्छु, यो रोक्ने काम प्रहरीको हो ।’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले मेलाका विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो, ‘अब बुझेर त्यसलाई बन्द गर्छु ।’
आयोजकले स्टेजमा टाँसेको ब्यानरमा चर्चित हास्यकलाकारहरु विल्सनविक्रम राई ‘तोक्मे बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुडा’, गायकहरु शिव परियार, प्रमोद खरेल, सुगम पोखरेल लगायतको तस्बिर टाँसेर दर्शक भेला गरेता पनि यीमध्ये कोही पनि गायक तथा कलाकारसँग आयोजकले सम्पर्क नै नगरेको खुल्न आएको छ ।