प्रकाश न्यौपानेभैरहवा । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी एक महिलाका साथबाट ४ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेका छन् ।
गैडहवा–४ कि रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रकम लैजाने क्रममा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ ।
मल्लले आफ्नो २ लाख २२ हजार र बाँकी २ लाख ४१ हजार रुपैयाँ ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् । सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा जाँदैगर्दा उनीमाथि गोली प्रहार भएको थियो । लगत्तै लुटेरा समूहले नगद रकम लुटेर भागेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी शर्मराज भण्डारीले जानकारी दिनुभयो ।
लुटेराहरूले प्रहार गरेको गोली टेप्पोको टायरमा लागेको छ । मानवीय क्षति भने भएको छैन । ‘गोली टेम्पोको टायरमा लागेकाले मानवीय क्षति हुन पाएन’, भण्डारीले भन्नुभयो, ‘टायर गोली लागेपछि उनीहरुले पैसा लुटेर भागेका हुन्, उनीहरुको तीब्र खोजी भइरहेको छ ।’ घटना पछि प्रहरीले जिल्लाको सुरक्षा सर्तकता बढाएको छ ।
गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले अप्रत्यासित घटना घटेको बताउनुभयो । ‘घटना भएको हो, लुटेराहरुले रकम लुटेर भागेका छन्, प्रहरीलाई खबर गरेका छौं, खोजी भइरहेको छ’, उनले भने, ‘एकाएक अप्रत्यासित घटना भएको छ । यसले गाउँपालिकालाई दुखित बनाएको छ ।’ उनले प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही गर्नेमा विस्वस्त रहेको जनाए । प्रहरीका अनुसार घटनास्थलमा एउटा गोलीको खोका समेत भेटिएको छ ।
घटनाबारे अहिलेसम्म केही पहिचान हुन सकेको छैन । मोटरसाइकल नम्बर समेत पत्ता लागेको छैन । जिल्लाभरी प्रहरी परिचालन गरि खोजी भइरहेको छ । सीमा नाकामा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । ठाउँठाउँमा चेकिङ गरिएको छ । यद्यपि अहिलेसम्म केही पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।