रुपन्देही । युवालाई लागू औषधको कुलतबाट जोगाउँन अभिभावक सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका वडा–४ को सहयोगमा बुधबार बुटवलमा गरिएको लागू औषध दुव्र्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले युवालाई सही बाटोमा हिडाउन अभिभावकको निगरानी आवश्यक रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लागू औषधको दुरुपयोग नगरको सम्वृद्धिको बाधक बन्ने भएकाले सबैले यसको नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लागु औषध दुरुपयोग तथा ओसार पसार नियन्त्रणका अभिभावक र समुदाय सचेत हुनुपर्ने धारणा राख्नुभयो । विद्याालय र कलेज गएका छोराछोरी समयमा आए वा आएनन् भन्ने हेक्का अभिभावकले राख्नुपर्ने आचार्यको भनाइ थियो ।
बुटवल–४ का अध्यक्ष टंकप्रसाद पराजुलीले लागू औषध दुव्र्यसनको अवस्था विकराल भएकाले कानुनले मात्रै यसको समस्या समाधान सम्भव नभएको बताउनुभयो । उहाँले लागु औषध दुरुपयोग नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम बहादुर केसीले नयाँनयाँ तरिका अपनाएर लागू औषध दुरुपयोग हुने गरेकाले समाजमा आपराधिक गतिबिधि बढेको तर्क गर्नुभयो । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरी र युवाहरु कुलतमा फस्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले यसको नियन्त्रणका लागि सबै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनालले विद्यालय, समुदाय र कार्यस्थललाई लागू औषध निषेधित क्षेत्र तोक्नुपर्ने धारणा राख्नुभयो । खनालले भन्नुभयो, ‘लागू औषधको विषयलाई पाठ्यक्रममै समावेश गरी समुदाय निगरानी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले लागू औषध दुब्र्यसनले व्यक्तिको मानसिक अवस्थामा बिचलन पैदा हुने भएकाले युवा, अभिभावक र समुदाय सचेत भएर लागू औषध नियन्त्रणको अभियान चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समूहका उपाध्यक्ष मिना ढकाल, महासचिब बिन्दु थापा लगायतले लागू औषध मुक्त समाज निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।