शम्भु दाहालझापा । तीन बिगाहा खेत अधियाँ गरेर ५ जना परिवारको गुजारा चलाउँदै आएका हल्दीबारी–२ का पण्डु हाज्दा चिन्तित देखिन्छन् । हाज्दाको चिन्ताको कारण हो मनसुन शुरु नहुनु ।
उनी जस्तै आकाशे पानीका भरमा खेत रोप्ने झापाका अधिकांश किसान आकाशतिर हेरेर पानी नपरेकोमा प्रकृतिलाई गाली गर्न विवश छन् ।
सिँचाइको अभावमा झापाका अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकाशे पानीको भर पर्नुपर्ने र खेतमा सिँचाइ सुविधा नहुँदा असारको तेस्रो साता बितिसक्दा पनि रोपाइँ हुन नसकेको हो ।
असार पहिलो साताबाट साउनको पहिलो सातासम्ममा रोपाइँ सकिसक्नु पर्ने भए पनि अन्नको भण्डारका रुपमा परिचित झापाका अधिकाशं खेत हालसम्म बाँझै छन् । मनसुन सक्रिय नभएका कारण सिँचाइ अभावमा खेत बाँझै राख्न कृषक बाध्य भएका हुन् । हल्दीबारीका किसान लक्कीराम माडीले भने ‘राखेकै ठाउँमा बिउ बुढो भईसक्यो पानी पर्दैन, मोटरबाट एउटा खुट्टीमा लाउँदा दिन जान्छ ।’ उनले थपे ‘अर्कोमा लाउन थाल्यो भएको सुक्छ ।’
झापाको लगभग ९० हजार हेक्टरमा धान खेती गरीदै आएपनि लगभग ४० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी जमिनमा रोपाइँका लागि आकाशे पानी कै भर पनुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । धान रोपिसक्नु पर्ने खेतमा अहिलेसम्म आलि काट्न नसकिएको र पानी अभावमा धाजा परेको कृषक दिलकुमार मिश्रले बताए । यसका कारण बिउ ब्याडमै बुडिने र उत्पादनमा ह्रास आउने भन्दै कृषक चिन्तित बनेका छन् ।
हालसम्म झापामा २२ प्रतिशत रोपाइँ मात्र सकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । गतवर्ष असारको तेस्रो सातसम्ममा ३५ प्रतिशत रोपाइँ सकिएको भएपनि यसपालि गतसालको तुलनामा रोपाइँ नभएको केन्द्रको भनाइ छ । मनसुन सक्रिय भएसँगै रोपाइँ हुने केन्द्रको भनाइँ छ ।
![](https://45.77.241.73/wp-content/uploads/2019/07/sinchai-360x202.jpg)
झापामा ९० हजार हेक्टर जमिनमा धान खेती हुनेमा गतवर्ष ८७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइँ केन्द्रसँग तथ्याङक रहेको छ ।
२२ दिनको धानको बेर्ना रोप्दा उपयुक्त हुने भट्टराईले बताए । समयमा पानी नपर्दा बेर्ना खेतमै महिना दिन काटिसकेको कृषक बताउँछन् । कृषकले समयमै धान रोप्न पाएनन् भने गतवर्षको तुलना उप्पादन घट्नेमा दुईमत छैन । तर, कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ शालिकराम भट्टराई साउन सातासम्ममा रोपाइँ भयो भने उत्पादन नघट्ने बताउँछन् ।
रोपाइँ भएको ठाउँमा मलको अभावधानखेती गर्ने मध्ये सिजनमा झापामा रासायनिक मलको अभाव भएको छ । किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्मा हाल एक बोरा पनि मल मौज्दात छैन ।
जिल्लामा धान रोपाइँका लागि पाँच हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका नि.शाखा प्रबन्धक कमल पोखरेलले बताए । कृषि सामग्री कम्पनी लिमिटेड शाखा बिर्तामोड कार्यालयमा युरिया, पोटास मौज्दात रहेपनि डिएपी भने उपलब्ध छैन । कृषि सामग्रीको कार्यालयले यहीँ असार १५ सम्म १ सय २५ मेट्रिकटन मात्र डिएपी मल वितरण गरेको पोखरेलले बताए । गोदाममा युरिया प्रशस्त भएपनि केन्द्रबाटै डीएपी मल आवश्यकताअनुसार उपलब्ध नगराउदा अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका निमित्त शाखा प्रबन्धक पोखरेलले बताए ।
कृषि सामग्री केन्द्रले ७० प्रतिशत र टे«डिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । केन्द्रले मात्र जिल्लाका १ सय १० सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ । स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँढ्ने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको किसानकै गुनासो छ । मध्यवर्षामा समेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा भारतीय व्यापारीबाट मल खरिद गर्नुपरेको कृषक मोहन कुमार तिम्सिनाले बताए ।
विगत वर्षभन्दा यसवर्ष रासायनिक मलको माग बढी भएपनि उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।