विपुल अधिकारीपाँचथर । जिल्ला सदरमुकामबाट दक्षिणी क्षेत्रमा रहेका दुईवटा गाँउपालिकामा पानीको हाहाकार मच्चिएको छ । बैशाखको अन्तिम सातादेखि यहाँ पानी नपरेपछि तुम्बेवा र कुम्मायक गाउँपालिकामा जनजिवन कष्टकरा बनेको हो ।
तुम्बेवा गाउँपालिकाका सबै वडामा लगाइएको अन्नबाली नष्ट भएका छन् भने घरपालुवा जनावर बचाउन पनि समस्या भएको गाउँपालिका अध्यक्ष होम थापाले बताउनुभयो । ‘विगत तीनवर्षदेखि यो समस्या झेल्दै आएका छौं, विगतमा तीनवटा वडामा देखिएको समस्या यसवर्ष पाँच वटै वडामा देखियो, स्थानीय नागरिकलाई गाउँपालिकाले ट्यांकरमा खानेपानी वितरण गर्ने गरेको छ,’ अध्यक्ष थापाले भन्नुभयो, ‘घरपालुवा जनावरलाई खुवाउन पानीको समस्या छ, ट्याङ्करबाट ल्याइएको सबैतिर पु¥याउन समस्या छ ।’
उहाँ भन्नुहुन्छ, ‘वडा नम्बर ५ र ३ को सीमामा रहेको तीन दोभाने मुहानबाट पानी ल्याएर वितरण गर्ने गरिएको छ । ८ हजार लिटर पानी अटाउने ट्यांकी मुहान निर्माण गरिएको छ । मुहानबाट दैनिक तीनपटक ट्यांकरमा पानी बोकेर ल्याइन्छ ।’
तुम्बेवा गाँउपालिकाको करीव २९ सय घरधुरीमा १३ हजार ५ सय जनसंख्या छ । वार्षिक ४० देखि ५० परिवारले बसाइ सरेर जाने गरेको पालिकाको तथ्याङ्क छ । गाउँमा अहिले १० हजारभन्दा पनि कम जनसंख्या भएको तथ्याङ्क छ ।
कुम्मायक, तुम्बेवालगायत गाउँपालिकाबाट पनि स्थानीय पानीको अभावका कारण बसाई सर्न थालेका छन् । सुक्खा क्षेत्रमा देखिएको खानेपानीको समस्याका कारण कुम्मायक गाउँपालिकामा मात्रै अघिल्लो वर्ष चार सय ९० जनाले गाउँ छाडेका छन् । यता, कुम्मायक गाउँपालिकाको यासोक, स्यावरुम्बालगायत क्षेत्रमा पानीको समस्या छ । कुम्मायक गाँउपालिकामा डिप बोरीङबाट पानी निकालेर वितरण गर्दै आएको छ । तर, डिप बोरीङमा पनि बारम्बर समस्या आएका कारण प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् ।
गतवर्ष पनि ट्याङ्करको पानी वितरण गरेको प्रदेश सरकारले यसपटक भने समस्या समाधान भइसकेको स्पस्ट पारेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इद्रबहादुर आङ्बोका अनु्सार कुम्मायकमा डिप बोरीङबाट पानी वितरण भइरहेको छ । व्यवस्थापन कमजोर भएका कारण डिप बोरीङमा केही समस्या देखिएता पनि त्यसको समाधान भइसकेको आङ्बोको भनाइ छ । उहाँले तमोर लिफ्ट खानेपानीको काम धमाधम भइरहेकोले एक वर्षभित्र दुवै गाउँपालिकामा पानी पुग्ने आश्वासन दिनुभयो ।