शम्भु दाहालझापा । प्रतिबन्धित नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौं युवालाई ठगी गरेको आरोपमा झापाको मेचीनगरबाट १३ महिलासहित २१ जना पक्राउ परेका छन् । भारतीय कम्पनी ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिमा आवद्ध हुने २१ जनालाई झापाको धुलाबारीबाट प्रहरीले पक्राउ गरेको हो ।
धुलाबारीको खुट्टेडाँगीमा कोठा भाडामा लिएर नेटवर्किङमा संलग्न भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु १७ देखि २० वर्ष उमेर समूहका रहेको बताइएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अधिकांश कैलाली, सल्यान, दाङ, बैतडी लगायतका युवायुवती रहेको बताइएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
पूर्वी नाका काँकडभिट्टा हुँदै भारत जान लागेका उनीहरुलाई शंका लागेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भारतमा मानव तस्करले बेच्न लागेको आशंका गरिएपनि उनीहरु नेटवर्किङ व्यवसायमा संलग्न भएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ ।
भारतको गोरखपुरमा मुख्य कार्यालय रहेको तथा अन्य विभिन्न स्थानमा कार्यालय विस्तार गरेको ओरियन्ट्सबाट गाउँगाउँका सयौं नेपाली युवा ठगिएको र करोडौं रकम बाहिरिएको प्रहरीको अनुमान छ । ठगी धन्दामा कम्पनीले नेपालीहरुलाई नै प्रयोग गरिरहेको पाइएको छ । आठ हजारसम्म भारतीय रुपैयाँ लिई एक साताको तालिम दिएर हजारौंको औषधि बोकाएर उनीहरुलाई गाउँगाउँमा विक्रीका लागि पठाउने गरिन्छ ।
शुल्क बुझाई तालिम लिएपछि उनीहरु सदस्यको रुपमा त्यस कम्पनीमा भित्रिन्छन् र अरुलाई पनि सदस्य बनाउँदै कम्पनीको सामान बेचेर व्यापार बढाउँदै आएका छन् । यस्तो काममा नजिकैको साथीले लोभ्याएपछि त्यहाँ पुग्ने गरेको केही पीडितहरुले बताएका छन् । मेचीनगरमा पक्राउ पर्नेहरु प्रतिबन्धित नेटवर्क व्यवसायमा संलग्न भई अरुलाई पनि आवद्ध गराउने कार्यमा अग्रसर रहेको बताइन्छ । कम्पनीले नेपालको झापासहित विभिन्न जिल्लामा घर तथा फ्ल्याट नै भाडामा लिएर नेपाली ठग्न नेपाली युवा नै प्रयोग गरिरहेको पाइएको छ । उक्त कम्पनीको नेटवर्क र व्यापार अन्तर्गत हप्तामै करोडौं नेपाली रकम त्यहाँ जम्मा हुने गरेको छ ।
नेटवर्किङ व्यवसाय सञ्चालन गरी भारतीय कम्पनीका लागि नेपालमा सञ्जाल विस्तारमा सक्रियको संख्या यति नै छ भन्ने तथ्यांक छैन । सदस्य बनिसक्दा पनि धेरैलाई कम्पनीबारे थाहा हुँदैन । जतिधेरै सदस्य बनाउन सक्यो उति धेरै कमिशन बढ्दै जाने भन्ने गरिएकाले नेपाली युवा लोभिएर ठगीमा पर्दै आएको बताइन्छ । प्रहरीका अनुसार नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित भई त्यहाँका सोझा युवालाई धेरै कमाई हुने लोभ देखाएर फसाई रहेका छन् ।
यसअघि पनि विभिन्न नामका भारतीय कम्पनीबाट नेपाली ठगिँदै आएका थिए । प्रहरीले एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरिएको पाइएको छ । ओरियन्ट्समा सदस्य बन्न नेपालीले ८० हजारदेखि दुई लाख भारतीय रुपैयाँसम्म तिर्ने गरेको बुझिएको छ ।