हिमलाल पराजुलीस्याङ्जा । सरकारले जमीन बाँझो राख्न नपाउने बताइरहेका बेला गल्याङ नगरपालिका–१० भिरालेका किसानले पाखोबारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुर खेतीको शुरुवात गरेका छन् । बनमारा र काँडाले घेर्दै गएको पाखोबारीमा दुःख गरी लगाएको खेतीबाली बाँदर, मृग, दुम्सी लगायतका जंगली जनावरले खाइदिएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छोडेका थिए ।
खेती गर्न रोकिएपछि झाडी बनेको बारी चिटिकक पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुर खेतीका बारेमा जानकारी दिनुका साथै आवश्क विरुवा समेत उपलब्ध गराएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । भिरालोका ५० घर स्थानीयले देविभञ्याङ टिमुर व्यवसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जग्गामा टिमुर खेतीको शुरु गरेको समूहकी अध्यक्ष खगीसरा गाहाले बताउनुभयो ।करिव १२ सय टिमुरको बिरुवा लगाएको समूहका सदस्य टेकबहादुर सिंजालीले बताउनुभयो । बाँदर, मृग, दुम्सी लगायतका जनावरले अन्नवाली रहन नदिएपछि टिमुर खेतीको शुरु गरेको सिंजालीले बताउनुभयो ।
सामूहिक टिमुर खेतीबाट उत्साहित हुनुभएकी कृषक लीला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जन समेत गर्न सकिने भएकाले सामुहिक टिमुर खेतीमा लागेको बताउनुभयो ।
अघिल्लो वर्ष वडामा ७ सय टिमुरका बिरुवा परीक्षणका रुपमा लगाईएको र टिमुरका लागि चाहिने खालको उपयुक्त हावापानी भएकाले यस वर्षदेखि व्यवसायिक रुपमा समूह बनाएर शुरु गरेको कृषक लक्ष्मण शाहीले बताउनुभयो । टिमुर खेतीका लागि गाउँमै नर्सरी बनाएर बिरुवा उत्पादन गरिएको शाहीले बताउनुभयो ।
स्थानीय कृष्णकुमारी सारु गाहाले टिमुरबाट अचारका साथै विभिन्न काममा प्रयोग गर्न सकिने भएकाले यसको खेतीमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवालाई आफ्नै गाउँठाउँमा पनि परिश्रम गर्यो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्उ रहेको छ ।’
वडा अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले वडालाई प्राङ्गारिक वडाको रुपमा विकास गर्नका लागि कृषिका माध्यमबाट अगाडि बढिएको बताउनुभयो । पंगेनीले लाखुडाँडामा भ्युटावरको निर्माण गरेर यस गाउँलाई पर्यटकीय गाउँका रुपमा विकास गर्ने योजनामा रहेको वताउनुभयो ।
युवालाई विदेश पलायन हुनबाट रोक्न सामूहिक टिमुर खेती, सामूहिक कागती, कुरिलो खेतीलाई समेत वडाले प्राथामिकता दिएको शर्माको भनाइ छ ।